‘अवार्ड समारोह सबैको चित्त बुझ्ने कार्यक्रम होईन’

पोखरा, २६ साउन/सबै क्षेत्रको हार्दिकतापूर्ण सहयोगले दोस्रो पोखरा स्पोर्टस् अवार्ड २०७३ भव्य र सफलतापूर्वक सम्पन्न भएको आयोजक नेपाल खेलकूद पत्रकार मञ्च, कास्कीले जनाएको छ । मञ्चले बुधबार समिक्षा बैठकको आयोजना गरी औपचारिक रुपमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन समेत गरेको छ ।

मञ्चको आयोजनामा शनिबार दोस्रो संस्करणको अवार्ड समारोह भएको थियो । अवार्ड आयोजना गर्नका लागि विभिन्न संघसंस्था तथा स्वदेश विदेशमा रहेका पूर्व खेलाडी, खेल संघसंस्था एवं खेलप्रेमी महानुभावले आर्थिक सहयोग प्रदान गरेका थिए । सल्लाहकार समिति संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्यक्रम अत्यन्त सफल भएको बताउँदै कामले काम सिकाउने भएकाले आगामी दिनमा देखिएका कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताए । ‘अवार्ड कार्यक्रमले सबैलाई सन्तुष्ट पार्न सकिँदैन । जित्ने मात्र खुशी हुन्छन् । मानवीय स्वभाव, व्यवहार नै त्यही हो ।’ – उनले भने– ‘सर्वोत्कृष्टले अवार्ड प्राप्त गर्छन् ।

अरु पनि उत्कृष्ट भएरै मनोनयनमा पर्ने हो ।’ श्रेष्ठले समग्र पत्रकारको साझा कार्यक्रम भएकाले सबैले आफ्नो जिम्मेवारी र अपनतव महसुस गरेर सफल बनाउन लाग्नुपर्नेमा जोड दिए । ‘छनौट समितिले दुई घण्टा अघि सिफारिस गरेकै नाम कार्यसमितिले अनुमोदन गरेको छ । सोहि अनुसार अवार्ड वितरण भएको छ । पत्रकार साथीहरुले नै नाम परिवर्तन गरियो भनेर हल्ला चलाईदिन्छन् । कस्तो अचम्म ?’ – श्रेष्ठले भने ।

सल्लाहकार एवं संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले पोखरा स्पोर्टस् अवार्ड यहाँको खेलजगतकै अत्यन्त गरिमामय कार्यक्रम रहेको बताए । खेल पत्रकारले सहयोग जुटाएरै यहाँको खेलकुदको विकासमा टेवा पु¥याउने उद्देश्यले निस्वार्थ भावमा लागिपरेको भन्दै ज्ञवालीले यहाँका खेल संघसंस्था, खेलकुदकर्मी, खेलाडीले हाम्रै लागि पत्रकारले यस्तो कार्यक्रम ग¥यो भनेर खुशी हुनुपर्ने बताए । ‘खेलाडीलाई आफ्नो पदकको मूल्य, आफ्नो खेल जीवनको उपलब्धि, मेहनत अवार्ड कार्यक्रमले गर्दा महसुस हुन सक्यो’ – ज्ञवालीले भने– ‘खेलकुदमा स्वर्ण जित्दा नमिलेको खुशी अहिले अवार्डले दिलाएको छ । अवार्ड जित्दा कसैले थाहा नपाएको कुरा यही समारोहले दुनियाँसामु चर्चामा पु¥याएको छ । खेलाडी र खेल संघहरुले मन सानो बनाएर बस्नुहुन्न ।’ उनले काम गर्नेलाई नै चारैतिर आक्रमण हुने भन्दै काम नगर्नेहरु सधैं आलोचना गरेरै बस्ने बताए ।

सल्लाहकार एवं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पत्रकारहरुकै व्यवहारप्रति तीतो पोखे । पत्रकार साथीहरु चित्त नदुखाउन आग्रह गर्दै सुरुमै उनले भने– ‘पहिले तपाईंहरु एक हुनुहोस् । पत्रकारले गर्ने कार्यक्रम सफल पार्नु सबै पत्रकारको दायित्व हो । तर तपाईहरु नै यताउता कुरा गर्ने, नहुने कुरा गर्ने, उचाल्ने, पछार्ने काम गरिरहनुभएको छ । यो अवार्ड सबै पत्रकार र खेलकुदकर्मीको हो ।’ उनले स्पोर्टस् अवार्ड छनौट समितिले जिल्ला, क्षेत्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, पदक र खेल जीवनमा पु¥याएको योगदानका आधारमा नै चयन गरिएको भन्दै कास्कीमा जन्मेका वा कास्कीलाई कर्म क्षेत्र बनाएकाहरु छनौट पर्ने स्पष्ट पारे । अब अंकका आधारमा छनौट मापदण्ड बनाएर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।

मञ्चका अध्यक्ष केशव पाठकले देश देखि विदेशबाट गत वर्ष भन्दा दोब्बर बढि आर्थिक सहयोग जुटेको उल्लेख गर्दै सबैप्रति धन्यवाद ज्ञापन गरे । केहि पत्रकार बाहेक सबैलाई चित्त बुझेको आफूले पाएको भन्दै उनले आगामी दिनमा पनि यसैगरी सबैको सहयोग जुट्ने विश्वास व्यक्त गरे । आसन र भाषणलाई टाढा बनाएर उद्घाटन समेत नगरी भएको सो कार्यक्रम पोखराका गण्डकी टेलिभिजन र पोखरा टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । प्रचार संयोजक समेत रहेका सचिव रञ्जन अधिकारीले कमीकमजोरी देखिएका क्षेत्रमा सुधार गर्दै अघि बढ्ने बताउँदै सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे । उनले आफ्नै सदस्यले कमीकमजोरीको प्रचारबाजी मात्र गर्ने तर समिक्षा बैठकमा भने उपस्थित नहुने खतरनाक प्रवृत्ति आफ्नै साथीहरुमा हुनु दुःखद रहेको उल्लेख गरे ।

दोस्रो पोखरा स्पोर्टस् अवार्डमा लाईफटाईम अचिभमेनट अवार्डबाट अग्रज खेलाडी खड्गबहादुर रानाभाट, उत्कृष्ट खेलाडी पुरुषतर्फ लनटेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट खेलाडी महिलातर्फ भलिबलकी अरुणा शाही, उदयीमान खेलाडी भलिबल÷एथ्लेटिक्सकी ममता डगौरा, उत्कृष्ट प्रशिक्षक तेक्वान्दोका सुनबहादुर लामा तथा उत्कृष्ट खेल संघबाट कास्की जिल्ला लनटेनिस संघले अवार्ड प्राप्त गरेका थिए । पोखरा लेखनाथ महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, हिमश्री फुड्स प्रालि, सहारा क्लब यूके, मुछेत्र गुरुङ (एनआरएन, यूके) ले ५० हजार बढि सहयोग प्रदान गरेका थिए । दर्जनौं संघसंस्था एवं व्यक्तिले १० हजारदेखि माथि आर्थिक सहयोग गरेका छन् ।

कमेन्टहरु
Loading...