स्नो भ्यूलाई अन्तरसंस्था फुटबल उपाधि

पोखरा, ५ माघ /लायन्स क्लब अफ पोखरा आदर्श लामाचौरको आयोजनामा भएको आमन्त्रण अन्तरसंस्था सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि स्नो भ्यू बोर्डिङ स्कुल हेमजाले जितेको छ ।

लामाचौर खेल मैदानमा शुक्रबार भएको फाइनलमा सुरथेश्वर ब्याण्डमिन्टन समिति लामाचौरलाई ५–० गोलअन्तरले सहजै पराजित गर्दै उसले उपाधि हात पारेको हो । जितका लागि सुविन श्रेष्ठले ह्याट्रिक र जगत थापाले २ गोलको योगदान दिए ।

निर्धारित ४० मिनेटको खेलमा पहिलो हाफमा सुविनको गोल गर्दै टिमलाई विजयी उन्मुख गराएका हुन् । दोस्रो हाफमा सुविनले ह्याट्रिक पूरा गरे भने जगत थापाले २ गोल थपे ।

प्रतियोगिताकै पाका खेलाडी समेत रहेका स्नो भ्यूका जगत थापा उत्कृष्ट खेलाडी घोषित भए भने अनुशासित टिम एनएमए डक्टर्स, दर्शक छनोटमा एलसी ब्रदर्श र सर्वाधिक गोलकर्ताको उपाधि स्नो भ्यूका सुविन श्रेष्ठ (११ गोल) घोषित भए । प्रतियोगितामा १० टिम सहभागी थिए ।

विजेतालाई प्रमुख अतिथि लायन्स क्लब अफ इन्टरनेश्नल ३२५ बी १ का को–चिफ एड्भाइजर विश्वेश्वर आचार्य, नवआदर्श सामुदायिक विकास समाज अध्यक्ष बमबहादुर गुरुङ, पोखरा १९ का सदस्य कृष्णप्रसाद गौतम, आयोजक क्लबका संस्थापक अध्यक्ष नवीन भण्डारी, क्लब अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारी, प्रथम उपाध्यक्ष संजयकुमार अधिकारी, द्धितीय उपाध्यक्ष दिनेश भण्डारी, सचिव बुद्धिबहादुर खत्री क्षत्री, प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठ, लायन्स पोखरा अर्पण अध्यक्ष रेश्मा शेरचन अधिकारी, लायन्स पोखरा आदर्श सेन्चुरी अध्यक्ष नीलम थापा, एकता बुक्स पब्लिकेसन प्रालिका मार्केटिङ म्यानेजर अर्जुन खनाल लगायतले पुरस्कार वितरण गरे ।

शुक्रबार नै भएको सेमीफाइनलमा स्नो भ्यूले नवआदर्श सामुदायिक विकासलाई फराकिलो ९–० र सुरथेश्वरले अल्फालाई सडनडेथमा ८–७ गोलअन्तरले पराजित गरी फाइनल पुगेका थिए ।

उक्त अवसरमा क्लब अध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीले आगामी वर्ष लायन्स क्लब आदर्श कपको नाममा खेल हुने घोषणा गरे । समापनमा प्रतियोगिता सफल पार्न सहयोग गर्ने संघसंस्था तथा व्यक्तिलाई माायाको चिनोसहित सम्मान गरिएको थियो । प्रतियोगिता संचालन सचिव बुद्धिबहादुर खत्री क्षत्रीले गरेका थिए ।

उक्त मैदानमा पहिलो पटक भएको प्रतियोगिता उद्घाटन बिहीबार नेपाल सरकारका पूर्व सचिव समेत रहेका समाजसेवी बाबुराम आचार्यले गरेका थिए ।

कमेन्टहरु
Loading...