सराङ्कोट कपको उपाधि लामागाउँलाई

पोखरा, १७ फागुन/सराङकोट समाज सेवा युवा क्लवको रजत महोत्सवको अवसरमा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिता तथा एकल महिला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

फुटबल प्रतियोगितामा प्रथम बौद्ध तामाङ सेवा समाज लामागाउँ, दोस्रो डाँडा फुटबल क्लव, तृतीय स्मृति युवा क्लव, सान्त्वना सराङकोट समाज सेवा क्लव भएको छ । प्रतियोगितामा १६ क्लवको सहभागिता रहेको सचिव प्रदीप जि.सी.ले बताए ।

नृत्य प्रतियोगितामा प्रथम अस्मिता आले, दोस्रो विपना थापा, तेस्रो सजना आचार्य र सान्त्वना सुमि तामाङ्ग भएका थिए भने उत्कृष्ट खेलाडीमा सरोज गुरुङ, सर्वाधिक गोलकर्तामा सागर थापा र अनुशासित खेलाडीमा घनश्याम तामाङलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा होटल अन्नपूर्ण भ्यू सराङकोटको सहयोग निर्माण गरिएको खेल मैदान होटलका प्रबन्ध निर्देशक ताकासी मिहाराले हस्तान्तरण गरेका थिए । १४ रोपनी क्षेत्रफलमा फैलिएको मैदानले आगामी दिनमा थप खेलकुद कार्यक्रमलाई प्रोत्साहन हुने पूर्व अध्यक्ष पुष्कल बहादुर थापाले बताए ।

कार्यक्रममा होटलका प्रबन्ध निर्देशक एवं जापानी पर्यटन व्यवसायी ताकासी मिहाराले विजेता समूहलाई सम्मान गर्दै युवाको समग्र सकारात्मक विकासका लागि सदैव सहयोग गरिने बताए । सराङकोटको समग्र विकास गतिविधिमा महत्वपूर्ण भूमिका स्वरुप सराङकोट जन्मघर भएका स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण थापा, प्रशिक्षक सुशिल के.सी., सन्तोष गुरुङ्ग र सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो ।

क्लवका अध्यक्ष विष्णु थापाको अध्यक्षतामा भएको कार्यक्रममा होटलका निर्देशक तिर्थराज त्रिपाठी, वडाअध्यक्ष रणबहादुर थापा, सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जिसी, नेकपा एमाले वडा कमिटी अध्यक्ष पुष्कल थापा, नेपाली काँग्रेस वडा इकाई सभापति शिव प्रसाद तिमिल्सिना, नेकपा माओवादी केन्द्रका अध्यक्ष टिकाराम तिमिल्सिना, समाजसेवी रामबहादुर थापा, शमशेर बहादुर थापा, उमनाथ चपाई, संस्थापक उपाध्यक्ष दिलबहादुर जिसी, पूर्व अध्यक्ष बेलबहादुर जिसी, मोहन थापा, सल्लाहकार सुशील जिसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

एक करोडभन्दा बढी लागतमा निर्माण गरिएको खेल मैदानले सराङकोटको धार्मिक पर्यटन गुरुयोजनामा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष थापाले बताए ।

कमेन्टहरु
Loading...