सहारा क्लवलाई १ लाख बढि सहयोग

पोखरा, २० चैत /साहारा क्लव पोखराद्धारा सञ्चालित साहारा एकेडेमी सञ्चालनार्थ स्थापना गरिएको अक्षय कोषमा थप रकम संकलन भएको छ । हङकङमा बस्दै आएका श्याम भण्डारी (पुन) र दुर्गा भण्डारी (पुन)को परिवारले संयुक्त रुपमा एक लाख एघार हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

सहारा क्लवलाई १ लाख बढि सहयोग
सहारा क्लवलाई १ लाख बढि सहयोग

सहयोग रकमको चेक शनिबार एक कार्यक्रमका बीच सहारा क्लवका अध्यक्ष विरभद्र आचार्यलाई हस्तान्तरण गरिएको थियो । एकेडेमीलाई दिगो रुपमा सञ्चालन गर्न क्लवले एकबर्ष अघिदेखि अक्षयकोषको अवधारणा सुरु गरेर रकम संकलन गर्दै आएको छ ।

यस्तै सहारा युकेका पूर्व सदस्य कमल गुरुङले १० हजार तथा सहारा क्लवका मानार्थ सदस्य नवीन गुरुङले पनि एकथान कम्प्युटर सहयोग गरेका छन् । सहयोगी दाता र युकेबाट आएका विदेशी पाहुनाहरुलाई क्लवले सहारा एकेडेमी दोविल्लामा स्वागत गरेको थियो । त्यसपछि एकेडेमीको अवलोकन गर्दै उनीहरुले क्लवको थप विकास र एकेडेमी सञ्चालनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

सहयोग हस्तान्तरण पछि बोल्दै सहारा क्लवका मानार्थ सदस्य नविन गुरुङले सहारा क्लवले गरेको सामाजिक काम निकै प्रशंसनीय भएको भन्दै सहयोगका लागि सबैसँग आग्रह समेत गरे । क्लव अब पोखराको मात्रै रहेन, उनले भने–अन्तराष्ट्रिय रुपमा परिचित भैसकेका छौं, यसलाई कायम गर्न र थप विकसित गर्नका लागि सबैको सहयोग आवश्यक छ । क्लवका अध्यक्ष विरभद्र आचार्यले सहयोगले अक्षयकोषको सपना पूरा गर्न योगदान गरेको बताए । हामी निस्वार्थ भावनाबाट प्ररित भएर समाजसेवामा लागेका छौं, उनले भने–सहयोगी हातहरुबाटै प्राप्त सहयोगले हाम्रो सपना पूरा हुन्छ, सहयोगका लागि सबैसँग आग्रह गर्छु ।

न्यूनतम २ करोड रकम संकलन गर्ने उद्देश्य सहित स्थापना भएको अक्षयकोषमा हालसम्म ७५ लाख रुपैयाँ संकलन भैसकेको छ । सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीमा कठिन परिस्थिति र विपन्न वर्गका १६ जिल्लाका २६ जना बालक छन् । २०५५ सालमा स्थापना भएको क्लवको अन्तराष्ट्रिय रुपमा शाखा समेत स्थापना भएको छ । हालसम्म युके, हङकङ र अष्ट्रेलियामा शाखा विस्तार भैसकेको र छिट्टै जापान लगाएत अन्य देशमा पनि विस्तारको तयारी भैरहेको सहारा क्लव सल्लाहकार परिषद्का संयोजक विक्रम थकालीले जानकारी दिए । क्लवले फुटवलको विकाससँगै सामाजिक अभियानमा समेत योगदान गर्दै आएको छ ।

कमेन्टहरु
Loading...