भिक्टरको ह्याट्रिकसंगै हङकङ क्वाटरफाईनलमा

गोकुल बानियाँ /पोखरा ८ कार्तिक । नायजेरियन खेलाडि भिक्टरको ह्याट्रिक संगै नेप्लिज फुटबल एसोसिएसन हङकङले तेस्रो सफल पोखरा कपमा क्वाटरफाईनलको यात्रा तय गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा १६ बर्ष मुनीको नेपाली राष्ट्रिय टिमलाई ३–० ले हराउदै पाहुना टोलिले क्वाटरफाईनलमा अर्को पाहुना टोलि भुटानसंगको भेट पक्का गरेको हो । हङकङको जितमा भिक्टरले १६, ७७ र ८९ औं मिनेटमा गोल गर्दै प्रतियोगितामै पहिलो ह्याट्रिक गरे ।

नाईजेरियन र अफ्रिकन ५ खेलाडि सहित मैदान उत्रिएको हङकङको सामु नेपाली युवा खेलाडिले पाएको अबसर पनि सदुपयोग गर्न नसक्दा पहिलो चरणबाटै बाहिरियो । पहिलो हाफ एक गोलले पछि परेको नेपाल बिरुद्ध हङकङले दोस्रो हाफमा २ गोल थप्यो । खेलको २७ औं मिनेटमा बिकास थापाले पाएको राम्रो अबसर गुमाए भने ३० औ मिनेटमा किरण सुनारले वान भर्सेन वान बलको सदुपयोग गर्न नसक्दा पोखरा रंगशालामा उपस्थित सयौ दर्शक निरास भएका थिए । ८७ औं मिनेटमा बिमल घर्तिमगरको शसक्त प्रहार हङकङका गोलरक्षकले रोकेका थिए ।

शारिरिक रुपमा बलिया खेलाडिको सामु नेपालको यु–१६ टोलिको आजको खेल अहिले सम्मकै सबैभन्दा कमजोर देखिएको प्रशिक्षक बालगोपाल महर्जनले बताए । दशैपछि प्रशिक्षण नभएकाले पनि अभ्यासको अभाबमा खेलाडिको प्रदर्शन कमजोर भएको उनले बताए । आजको खेलमा कुनैपनि खेलाडिले राम्रो गर्न नसकेको र यो नतिजाले आफुलाई निरास बनाएको महर्जनले बताए ।

अन्तिम समयमा जुटाएको खेलाडिले पनि उत्कृष्ठ प्रदर्शन गरेको हङकङका प्रशिक्षक राजिब हिराचनको प्रतिक्रिया थियो । हिजो मात्र टिम तयार गरी मैदान उतारेको उनले बताए । आफ्ना खेलाडि शारिरिक रुपमा बलिया रहेकाले जित सुनिश्चित भएको हिराचनको दाबि छ । आजको बिजेताले अब क्वाटरफाईनलमा भुटानको सामना गर्नेछ । प्रतियोगिता अन्तर्गत भोलि पहिलो क्वाटरफाईनलमा मनाङ मस्र्याङदी क्लब र जावलाखेल युथ क्लबबिच प्रतिश्पर्धा हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

कमेन्टहरु
Loading...