मुख्यमन्त्री कप खेल्न गण्डकी प्रदेश टोली प्रस्थान

पोखरा, २८ फागुन /प्रदेश नं ७ धनगढीमा आयोजना हुने प्रदेशस्तरीय मुख्यमन्त्री कप खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशको टोली सोमबार प्रस्थान गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले खेलाडी तथा अफिसियललाई खादा लगाई विदाई गर्दै जितको शुभकामना दिए । टोलीको सेभ दि मिसन भने पश्चिमाञ्चल क्षेत्रीय खेलुकद विकास समितिक कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी रहेका छन् ।

धनगढीमा व्याडमिन्टन, फुटबल, क्रिकेट र भलिबल प्रतियोगिता आयोजना हुने छ । महिला तथा पुरुष दुवै इभेण्टमा प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा विजेता प्रदेशले १५ लाख रुपैयासहित मुख्यमन्त्री ट्रफी प्राप्त गर्ने छ । उपविजेताले ८ लाख र तेस्रो हुने प्रदेशले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगितामा प्रत्येक टिम इभेण्टमा स्वर्ण पदक जित्ने प्रदेशका खेलाडीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । प्रत्येक इभेण्टमा प्राप्त पदकको आधारमा नम्बर प्राप्त हुन्छ । नम्बरकै आधारमा बढी अंक ल्याउने प्रदेश च्याम्पियन हुने प्रावधान छ ।

गण्डकी प्रदेशबाट चारवटा प्रतियोगिताको लागि खेलाडी तथा अफिसियल गरी ९२ जनाको टोलीले सहभागिता जनाउने छन् । खेलाडी तथा अफिसियललाई भने सामाजिक विकास मन्त्रालयले जर्सी सेट उपलब्ध गराएको थियो । यति ठूलो पुरस्कार राशी भएको प्रदेशस्तरीय प्रतियोगिता पहिलो हो । धनगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिता, एवं सुदुर पश्चिम गोल्डकपसँगै प्रदेशस्तरीय मुख्य मन्त्री कपले धनगढीलाई खेलकुदको गन्तव्यस्थल बनाउन टेवा पुग्ने विश्वास खेलकुदकर्मीले औंल्याएका छन् । क्रिकेट र गोल्डकप दुवै मोफसलका सर्वाधिक पुरस्कार राशीका प्रतियोगिता हुन् ।

कमेन्टहरु
Loading...