प्याराग्लाईडिङ वल्र्ड च्याम्पियनमा टिम इभेण्टमा नेपाल च्याम्पियन

पोखरा, १७ फागुन / प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुरको उपाधि कोरियन खेलाडी च्याम्पियन बन्दा टिम तर्फ नेपालीले उपाधि आफनो नाममा लेखाएको छ । तेस्रो दिनको शनिबारको टास्क पुरा गर्दै कोरियन खेलाडी(पाईलट) जङमन चोयले व्यक्तिगत तर्फ २२२० स्कोरसहित वल्र्ड च्याम्पियन बने ।

उनले तेस्रो दिको टास्क पुरा गर्दा पहिलो दिन २४५ अंक जोडे । दोस्रो दिन ९९२ अंक र तेस्रो दिन ९८३ अंक जोड्दै उपाधि जित्न सफल भए । अन्तिम दिनको टास्क ४७ दशमलव ८ किलोमिटरको थियो ।
दोस्रो स्थानमा नेपालका विशाल थापा आए । उनले तेस्रो दिनसम्मको टास्क पुरा गर्दा २१४७ स्कोरसहित दोस्रो स्थानमा खुम्चिए ।

उनले पहिलो दिन ९४४ स्कोर जोडे । दोस्रो दिन ९७८ र तेस्रो दिन केवल २२५ स्कोर मात्रै रह्यो । तेस्रो स्थानमा विजय गौतमले २१३० स्कोरसहित कब्जा गरे । उनले पनि पहिलो दिन र दोस्रो दिनको टास्क उत्कृष्ठ रुपमा पुरा गरेपनि अन्तिम दिनको प्रदर्शन भने खराब रह्यो । पहिलो दिन १००० अंक जोड्दै अगाडि रहेका दोस्रो दिन ९०९ र अन्तिम दिन २२१ स्कोर मात्रै जोड्न पुगे ।

टिम इभेण्टको प्रतिस्पर्धामा भने नेपाली टिम वल्र्ड च्याम्पियन बनेको छ । दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै वल्र्ड च्याम्पियन बनेको हो । पहिलो दिन १७ , दोस्रो दिन २० र तेस्रो दिन १७ स्कोरसहित समग्रमा ५४ अंकसहित वल्र्ड च्याम्पियन बनेको हो । नेपाली टिममा विजय गौतम, विशाल थापा, शेर गुरुङ र युकेश गुरुङ थिए । दोस्रो स्थानमा भने कोरियन टोली रह्यो । कोरियन टोलीले ४८ स्कोरमा रह्यो ।

पहिलो दिन २०, दोस्रो दिन १५ र तेस्रो दिन केवल १३ अंक ल्याउँदै उपविजेतामा सीमित हुन पुगेको कार्यक्रम संयोजक एवं नेपाल हवाई खेलुकद संस्थाका निर्वतमान अध्यक्ष योगेश भट्टराईले जानकारी दिए । तेस्रो स्थानमा टिम जर्मनी रह्यो । जर्मनीले ४५ स्कोर मात्रै जोड्न सक्यो । जर्मनी टिमले अन्तिम दिन प्रभावकारी प्रदर्शन गर्दैै २० अंक जोडेपनि अघिल्ला दुई दिनको टास्क खराबस्थितिमा गुजार्यो ।

महिला तर्फको प्रतिस्पर्धामा अमेरिकन पाईलट ग्लेन क्रिक प्याट्रिकले ११६० स्कोरसहित वल्र्डच्याम्पियन बन्न सफल भईन् । दोस्रो स्थानमा भने यना ली रहिन् । कोरियन पाइलटले ७४७ स्कोर बनाईन् । तेस्रो स्थानमा चेकोस्लोभाकियाकी सुशान स्टाफेरले ३७१ स्कोरमा रहिन् ।
तीन दिन मौसममा आएको खराबले टास्क शुरु हुनै सकेको थिएन् । पछिल्लो दिन गरिएको टास्क अनुसार नै वल्र्ड च्याम्पियन घोषणा गरिएको हो । पहिलो दिनको टास्क ४२.७ किलोमिटरको थियो ।

दोस्रो दिन सबैभन्दा लामो ५४.२ किलोमिटरमा पाईलटले क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । विभिन्न १९ देशका ८९ जना पाईलटले प्रतिस्पर्धा गरेका नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले बताए । पुरस्कार युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले ट्रफी तथा पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

वल्र्डकप–एशियन टुरमा नेपाली १२ जना पाईलट सहभागि थियो । प्याराग्लाईडिङमा हुने सम्भावित जोखिम न्युनिकरण गर्न नेपाली सेनाको टोलीले रेस्क्युको जिम्मेवारी लिएको थियो । वल्र्डकप टुरमा अमेरिका, कोरिया, फ्रान्स, जापान, कोरिया, बेलायत, भारत, इरान, चेकोस्लोभाकिया, स्वीस, अष्ट्रिया लगायतका देशका पाईलटको सहभागिता रहेको थियो । वल्र्डकपलाई फेडेरेशन अफ एरोनोटिक इन्टरनेशनल(एफएआई)बाट मान्यता प्राप्त पाईलटले मात्रै सहभागिता जनाएका थिए । एफएआईले अन्तराष्ट्रिय प्याराग्लाईडिङ पाईलटको नियमन गरेको थियो ।

कमेन्टहरु
Loading...