प्रदेशको खेलकुद बजेट टिका बनाउन अक्षता किन्न नसक्ने अवस्था छ–मन्त्री पुन

पोखरा, ७ माघ /गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले यो वर्ष कुनैपनि खेलकुद गतिविधिलाई आर्थिक सहयोग प्रदेश सरकारले गर्न नसक्ने स्पष्ट पारेकी छिन् । उनले यो वर्ष खेलकुदको विकासको लागि पुर्वाधार तयार पार्नुपर्ने भएकोले खेलुकदको गतिविधिलाई यो वर्ष आर्थिक सहयोग गर्न नसकिने बताईन् ।

‘प्रदेशले छुट्टाएको बजेटले टिका बनाउन अक्षता किन्न समेत पुग्दैन् ।’ मन्त्री पुनले आईतबार पोखरामा आयोजित ‘पोखरा तोयामा रियो एआईदो शिबु क्लब’को प्रथम राष्ट्रिय सेमिनारको उदघाटन गर्दै भनिन–‘त्यसैले यो वर्ष खेलकुदका कार्यक्रमलाई आर्थिक सहयोग गर्न सम्भावना छैन् ।’ उनले दुई अर्ब २० करोड रुपैयाँ मात्रै बजेट रहेको उल्लेख गर्दै बजेटको सीमा भित्र रही काम गर्नुपर्ने भएकोले पनि यो वर्ष पुर्वाधारमा ध्यान दिइएको बताईन् ।

प्रदेश सरकारले पोखरा रंगशालालाई अन्तर्राष्टिय रंगशाला बनाउन चीनसँग सहकार्य गरिरहेकै अवस्थामा राष्ट्रिय खेलकुद परिषदबाट फुटबल स्टेडियमको टेण्डर प्रक्रिया टुग्याएपछि दुविधामा परेको बताईन् । ‘ अन्तर्राष्ट्रिय रंगशाला बनाउन पोखरा रंगशालालाई बनाउने कि अन्यत्र बनाउने भन्ने प्रदेश सरकार दुविधा छ ।’ मन्त्री पुनको भनाई थियो । उनले गण्डकी प्रदेशको खेलकुद अन्य प्रदेशको भन्दा अगाडि जानुपर्ने औल्याउँदै हरेक विद्यालयमा खेलको विधा अनुसार खेल शिक्षक राख्नुपर्नेमा जोड दिईन् ।

राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले पोखरामा खेलका गतिविधि हुने भएपनि प्रशिक्षकको समस्या रहेको बताए । उनले पोखरा रंगशालामा निर्माणको तयारीमा रहेको फुटबल स्टेडियमको क्षमता १६ हजार ५ सय सानो हुने भन्दै ४०/५० हजार दर्शक क्षमताको बनाउनुपर्ने बताए । दर्शक क्षमता बढाउँदा केही अन्य खेलको पुर्वाधार समेत हटाउनुपर्ने बाध्यता थपिने सम्भावना रहेको छ ।

जापानको तोयामा आर्मी स्कुलबाट शुरु भएको तोयामा रियो एआईदो शिबु(तरबारको कला) नेपालमा भने सन २०११ मा भित्रिएको हो । तर सन २०१५ पछि मात्रै नेपालमा त्यस खेलको प्रशिक्षण शुरु गरिएको हो । जापानमा तरबार चलाउने कला दोस्रो विश्वयुद्ध भन्दा अघि राजसंस्थाका आर्मीले सिक्ने गरेको जापानमा लामो समय तोयामा रिया एआईदो प्रशिक्षकको रुपमा रहेका नविन आचार्यले सुनाए ।

दोस्रो विश्वयुद्ध यसलाई खेलको रुपमा विकास गरिदैं खेलकुदको रुपमा विकास गरिएको उनको भनाई थियो । नेपालका प्रुमख प्रशिक्षक समेत रहेका आचार्यले निकट भविष्यमा यो खेललाई राष्ट्रिय खेलकुदमा दर्ता गराई सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको समेत सनुाए ।

सेमिनारमा तोयामा रियो एआईदो शिबु आठजना खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई मन्त्री पुन, परिषदका बोर्ड सदस्य राजेश गुरुङ, पश्चिञ्चाल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, तोयामा रियो एआईदो शिबु कास्कीका अध्यक्ष नारजबहादुर खड्का लगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...