५ किलो मिटर संचारकर्मी दौडमा भिम र पार्वती प्रथम

पोखरा ९, असार /संचारकर्मीहरुको लागि आज पोखरामा सम्पन्न भएको ५ किलोमिटर सडक दौड मा पुरुष तर्फ भिम थापा र महिला तर्फ पार्वती थापाले उपाधि जितेका छन । फेवा टेलिभिजन तथा हेमजा एफएममा आवद्ध भिमले निर्धारित दुरी १८ मिनेट ४७ सेकेण्डमा पार गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन । उनले गत बर्ष पनि उक्त उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका थिए ।

महिला तर्फ १३ जना सहभागिहरुलाई पछि पार्दै रेडियो तरङगमा आवद्ध पार्वतीले निर्धारित दुरी २५ मिनेट ५४ सेकेण्डमा पार गर्दै महिला तर्फको उपाधि जित्न सफल भइन । त्यसै गरी पुरुष तर्फ हिमदुत राष्ट्रिय दैनिकमा आवद्ध विजय नेपालीले १९ मिनेट ११ सेकेण्डमा उक्त दुरी पार गरी दोश्रो भए । सुनौलो एफ.एम.मा आवद्ध देवेन्द्र पुनले निर्धारित दुरी १९ मिनेट ४५ सेकेण्डमा उक्त दुरी पार गरी तेश्रो भए । त्यस्तै महिला तर्फ रेडियो जननीमा आवद्ध सपना अधिकारीले निर्धारित दुरी २६ मिनेट ४६ सेकेण्डमा पार गर्दै दोश्रो भईन ।

पोखरा एक्सप्रेसमा आवद्ध सुस्मीता सुवेदीले २८ मिनेट १५ सेकेण्डमा उक्त दुरी पार गर्दै तेश्रो भएकी हुन । दुबै टिमका बिजेतालाई जनही ७ हजार, उपविजेतालाई जनही ५ हजार र तेश्रो हुनेलाई जनही ३ हजार सादमा मेडल र प्रमाणपत्र प्रदान गरिएकोे छ । आज जुन २३ तारिख अर्थात अन्तराष्ट्रिय ओलम्पिक दिवस । यसै अवसरमा भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा स्वर्गीय शिव शंकर रन्जितको स्मृतिमा आयोजना भएको प्रतियोगितामा पुरुष तर्फ २३ र महिला तर्फ १४ जना सहभागि भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।

मानवअधिकारचोकबाट सुरु भएको दौड महेन्द्रपुल, नयाँबजार , पृथ्बीचोक, सभागृहचोक, सृजनाचोक, बगालेटोल हुदै मानव अधिकारचोकमा पुगेर समापन भएको थियो । उक्त अवसरमा बरिष्ठ पत्रकार नारायण कार्कीलाई खेलकुद पत्रकारबाट सम्मान गरिएको छ । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका मेयर मान बहादुर जिसी, मञ्चका अध्यक्ष तेज बहादुर गुरुङ लगायतले सम्मान–पत्र, दोसल्ला र माला लगायर सम्मान गरेका हुन ।

कार्यक्रममा बोल्दै मेयर जिसीले पोखरामा भएको श्रोतसाधनलाई अधिक रुपमा प्रयोग गर्न नसकिएको बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले यस्ता सक्रिय तथा पत्रकार मैत्री व्यवहार गर्दा महास.घले जहिले पनि सहकार्य गर्न तयार रहेको बताए । मञ्चका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव कृष्ण तिमिल्सिनाले बताए ।

कमेन्टहरु
Loading...