बाम्दीमा भलिबल कोर्ट निर्माण गरिने, मन्त्रीद्वारा शिलान्यास

पोखरा, १७ पुस/ पोखरा महानगरपालिका–२३ चापाकोट बाम्दीमा भलिबल कोर्ट निर्माण शुरु गरिएको छ । सरकारको एक निर्वाचन क्षेत्र एक खेल मैदानको नीतिसँगै बाम्दीमा भलिबल कोर्ट निर्माण शुरु गरिएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा)ले बिहीबार भलिबल कोर्टको शिलान्यास गरे ।

शिलान्याससँगै गाउँ गाउँमा खेलकुदको पुर्वाधार विकास गर्ने प्रतिबद्धता अनुरुप बाम्दीमा खेलमैदानको शिलान्यास गरिएको सुनाए । उनले एक गाउँ एक खेल मैदानको नीतिलाई कार्यान्वयनमा लैजाने सरकारको प्रतिबद्धता अनुसार भलिबल कोर्टको शिलान्यास भएको बताउँदै यथासिघ्र निर्माण गरी युवापुस्तालाई खेलकुद प्रति आकर्षण गराउनुपर्नेमा जोड दिए ।

भलिबल कोर्टको लागि ५० लाख रुपैयाँ रातो किताबमा परेको हो । आर्थिक वर्ष २०७६/०७७ मा पोखरा–२३ बाम्दीमा खेल मैदान निर्माण गर्ने प्रस्ताव पेश गरिएको थियो । प्रस्ताव अनुसार नै भलिबल कोर्ट निर्माणको लागि खेलकुद मन्त्रालयले रातो किताबमा चढाउदै ५० लाख रुपैयाँ विनियोजन गरेको थियो । विनियोजित रकम निकासा नभईसकेपनि मन्त्री विश्वकर्माले कोर्टको शिलान्यास गरेका हुन् ।

गाँउ गाँउमै खेलकुदको पुर्वाधार निर्माणले नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास कास्की जिल्ला भलिबल संघको छ । त्यही विश्वासलाई आत्मसात गर्दै भलिबल कोर्टलाई बजेट निकासा जतिसक्दो छिटो भयो उति छिटो कोर्ट तयार गरिने जनाएको छ । गण्डकी प्रदेशका सदस्य राजीव पहारीले युवापुस्तालाई कुलतबाट जोगाउन र खेलकुदबाटै पर्यटन प्रवद्र्धन गर्न बाम्दीमा भलिबल कोर्ट निर्माणले नयाँ उत्साह थपिएको विश्वास व्यक्त गरे ।

पोखरा–२३ वडा कार्यालयसँगै जोडिएको पाखो जमिनलाई सम्याई खेल मैदानको रुप दिईने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले सुनाए । ‘वडा कार्यालयसँगैको जमिनलाई सम्याई लेभलिङ गरिने छ ।’ उनले भने–‘लेभलिङपछि तारजाली लगाई जग्गा संरक्षण गरिने छ ।’ उनका अनुसार बजेटकै कारण योजनाहरु कार्यान्वयन हुनमा ढिलाई र आशंका पैदा हुने भन्दै बजेट निकासा छिटो गरिदिन समेत आग्रह गरे ।

कमेन्टहरु
Loading...