भेट्रान अन्तर्राष्ट्रिय फुटबलको उपाधि टी बर्गर ललितपुरलाई

पोखरा, ११ माघ / बगर भाईखलकको आयोजनामा भएको तेश्रो स्व. रन्जित गुरुङ स्मृती तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि टी बर्गर ललितपुरले हात पारेको छ । शनिबार पोखरा १ टुडिखेल मैदानमा भएको फाईनल खेलमा गत वर्षको विजेता एविसि भेट्रानलाई पछाडी पार्दै टी बर्गरले उपाधि हात पारेको हो ।

फाइनल खेलमा टी बर्गरले एबिसिलाई २–१ को गोलले पराजित ग¥यो । जित हासिल गर्न टी बर्गरको तर्फबाट दुवै गोल टियाराम भुजेलले गरे । उनले पहिलो गोल १३ मिनेटमा र दोश्रो गोल २९ मिनेटमा उत्कृष्ट प्रदर्शनका साथ गरे । एबिसिका तर्फबाट दोश्रो हाफको शुरु भएलगत्तै ३३ मिनेटमा बिजय गुरुङले सान्त्वना गोल गरे । खेलमा म्यान अफ दि म्याचको उपाधि टि बर्गरका टियाराम भुजेलले पाए ।

टी बर्गरका नरेन्द्र लिम्बु प्रतियोगिताका उत्कृष्ट खेलाडी बन्न सफल भए । त्यसैगरि उत्कृष्ट गोलकिपर एबिसिका रबिन शाही, उत्कृष्ट डिफेन्डर एबिसिका विश्वलाल श्रेष्ठ, उत्कृष्ट फरवार्ड टी बर्गरका सुक्र तामाङ र उत्कृष्ट मिड फिल्डरको उपाधि टी बर्गरका टियाराम भुजेलले पाउन सफल भए ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताए ।

खेलकुदद्वारा हुने आपसी सद्भावलाई कायम राखि अगाडी बढ्नुपर्ने उनले बताए । खेलप्रेमिलाई प्रतियोगितामा स्वागत गर्दै बगर भाइ खलकका अध्यक्ष दिल बहादुर गुरुङले खलकले विगतदेखि गरेको गतिविधिका बारेमा जानकारी दिएका थिए । साथै साथ र सहयोगका लागि सम्पूर्णलाई धन्यवाद व्यक्त समेत अध्यक्ष गुरुङले गरेका थिए ।

‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागी नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात विगत २०६८ साल देखि ४० बर्ष देखि ६५ बर्षको उमेर समुहको भेट्रान फुटवल प्रतियोगीता आयोजना हुँदै आएको छ । प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा उपाधी विजेताले नगद १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसै गरी सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई नगद रु. १० हजार प्रोत्साहन स्वरुप प्रदान गरेको प्रतियोगिताका प्राविधिक संयोजक खगेन्द्र गुरुङले बताए । त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड हुने खेलाडीलाई ट्रफी सहित जनही नगद रु. ५ हजार प्रदान गरियो । साथै सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी सहित नगद रु. १० हजार दिईयो ।

त्यस्तै प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडी श्रृंखला भेट्रानका चिनबहादुर खत्रीलाई सम्मान समेत बगर भाइखलकले गरेको छ । सम्मान तथा पुरस्कार वितरण मन्त्री किरण गुरुङ, प्रदेश सभासद् कृष्ण थापालगाएत विशिष्ट व्यक्तिले वितरण गरेका थिए । कार्यक्रमको संचालन याम गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...