मनाङ मस्र्याङदीलाई छैटौ पटक आहा राराको उपाधि (को को बने उत्कृष्ट सहित)

पोखरा, १ चैत/ नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १८ औं संस्करणको उपाधि जितको छ । पोखरा रंगशालमा शनिबार भएको फाइनलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो ।

छैटौ पटक आहा राराको उपाधि जित्दै मनाङ उपाधि बढी जित्ने क्लब बनेको छ । पुलिसले क्याराभान गोल्डकपसहित ६ पटक जितेका छन् । निर्धारित र थप गरिएको समयमा दुवै टोलीबाट गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी र सुरज विके र रन्जन विष्टले गोल गरे ।

मनाङका निशान लिम्बुको पेनाल्टी पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारे । पुलिसका भोलानाथ सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे । पुलिसका तेज तामाङ र अजित भण्डारीले गोल गर्न सकेनन् । तेजको प्रहार मनाङका गोलरक्षक अशोक बरालले रोक्दा अजितको प्रहार बारमा लाग्दै फर्किएको थियो । च्याम्पियन बनेसँगै मनाङले १० लाख १ हजार रुपैया हात पारेको छ । दोस्रो भएको पुलिसले ५ लाख १ हजार रुपैयामा चिक्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्ड मनाङले जितेको छ । उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् । प्रतियोगितामा मनाङका अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक उत्कृष्ट रक्षक, नितिन थापा उत्कृष्ट मिडफिल्ड, अन्जन विष्ट उत्कृष्ट फरवार्ड र फुजा टोपे उत्कृष्ट प्रशिक्षक हुन सफल भए ।

समान २ गोल गर्ने पुलिसका भरत शाह र निरकुमार राई, मनाङका अन्जन, रुस्लान थ्री स्टार क्लबका सुशन श्रेष्ठ र आयोजक सहारा क्लबका त्रिदेव गुरुङ उच्च गोलकर्ता बने ।

सर्वोत्कृष्ट खेलाडी

अजित भण्डारी (पुलिस)

उत्कृष्ट

गोलकिपर – अशोक बराल (मनाङ)

डिफेन्डर – सुजर विक (मनाङ)

मिडफिल्डर – नितिन थापा (मनाङ)

फरवार्ड – अन्जन विष्ट (मनाङ)

प्रशिक्षक – फुजा टोपे (मनाङ)

उच्च गोलकर्ता (२ गोल) – भरत शाह (पुलिस), अन्जन विष्ट( मनाङ), निरकुमा राई (पुलिस), सुशन श्रेष्ठ (थ्री स्टार), त्रिदेव गुरुङ (सहारा)

कमेन्टहरु
Loading...