आहा रारा गोल्डकपको फाईनलमा थ्रीस्टार र आर्मी भिड्दै

पोखरा, १८ फागुन/आहा रारा गोल्डकपको १७ औं संस्करणको उपाधि छिनोफानोसँगै आज शनिबार विट मार्ने छ । उपाधिको लागि घरेलु फुटबलका दुई हस्ती रुस्लान थ्रीस्टार र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्ने छन् । प्रतिस्पर्धा आफैंमा रोचक र प्रतिस्पर्धात्मक हुने अपेक्षा फुटबलप्रेमीले गरेका छन् ।

आजको फाईनलमा इतिहास रच्ने र साख जोगाउने बीच प्रतिष्ठाको लडाईको रुपमा हेरिएको छ । पोखराको मैदानमा आर्मीले सहारा क्लबद्वारा आयोजित आहा देखि आहा रारा गोल्डकपको उपाधि उचालेको छैन् । यसअघि तीन पटक फाईनल प्रवेश गरेपनि उपविजेतामा चित्त बुझाएर फर्किएको छ । थ्रीस्टारले भने आफनो पोखरामा बनाएको साखलाई जोगाउँदै उपाधिमा नाम थप्ने योजनासहितको लक्ष्य लिएको छ ।

आर्मीले सातौं, आठौ र चौथो सस्करणको गोल्डकपको फाईनल यात्रा तय गरेको थियो । सातौं र आठौंमा नेपाल पुलिसक्लबसँग, मनाङ मस्र्याङ्दी क्लबसँग पराजित भएको थियो । थ्रीस्टारले पाँचौ, नवौं र तेह्रौं सस्करणको उपाधि उचाल्दा गत वर्ष भने नेपाल पुलिसक्लबसँग पराजित हुदैं उपविजेतामा सीमित भएको थियो । गतवर्ष उपाधिविहीनको अवस्थाको अन्त्य समेत गर्दै आहामा फेरी उपाधि उचाल्दै गतवर्षको पीडालाई भुल्ने योजना क्लबले लिएको छ ।

‘दुवै टिम उत्कृष्ठ छन् । केवल फाईट भनेकै १/२ को लागि मात्रै हो । दर्शकले अपेक्षा गरेको फाईनल खेल हेर्न पाउँछन् । एकले अर्काको नराम्रो पक्ष केलाएर मैदानमा उत्रिने छौं ।’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रुस्लान थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने–‘गेम ५०/५० को हुन्छ । सीमित अवसरको सृजना हुन्छ । जसले उपयोग गर्यो त्यसले नै उपाधि उचाल्ने हकदार बन्छ ।’

दुवै टोली यतिबेला निकै सन्तुलित देखिदैं आएको छ । डेढसाता अघिमात्रै भुटानबाट फर्किएको टोली सिधै पोखराको मैदानमा उत्रिएको हो । भुटानबाट उपाधि विहीनको यात्रालाई पोखराको मैदानमा उपाधि उचाल्ने धोको दुवैको छ । शसस्त्र प्रहरीलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थ्रीस्टारले उपाधि जित्नेमा ढुक्क रहेको दावी गरिरहेको छ । आर्मीले पनि अफ्रिकन टिम दाउफिन्सको चुनौतिलाई पन्छाउँदै फाईनलसम्मको यात्रा तय गर्दा निकै उत्साहित देखिएको छ । उनले अनुशासनमा बसेर फुटबल खेल्नु नै उपाधिको लागि हकदार भईने विश्वास व्यक्त गरे । ‘अर्को एकपल्ट नाम लेखाउन सक्छ भन्ने विश्वास छ ।’ उनको भनाई थियो ।

‘हामीले पोखरामा उपाधि उचालेका छैनौ । फाईनल जितेर उपाधि उचाल्ने हाम्रो सपना र योजना छ । घरेलु फुटबलमा दुवै उत्कृष्ठ हुन् । हामीलाई इतिहास रच्ने अवसर जुरेको छ । खेलाडीहरुले त्यही अनुसार मेहेनत पक्कै गर्ने छन् ।’ त्रिभुवन आर्मीका प्रशिक्षक नविन न्यौपानेले भने–‘अवसरलाई जसले उपयोग गर्न सक्छ त्यसैले उपाधि उचाल्छ ।’ आर्मीले सिजनको दुई उपाधि उचालिसकेको छ । मदन भण्डारी गोल्डकप इटहरी र विरगन्जमा आयोजित गोल्डकप उचाल्दै सिजनको तेस्रो उपाधिको खोजीमा छ । पोखरामा भने इतिहास लेखाउन आतुर र उत्सुकता आर्मीमा प्रष्ट झल्किएको छ । प्रशिक्षक न्यौपानेले थ्रीस्टार र आर्मी बीचको प्रतिस्पर्धा रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भएकोले यसलाई ‘नेपाल क्लासिको’ भन्न सकिने बताए ।

थ्रीस्टारका प्रशिक्षक केसीले घरेलु फुटबलको तीन वटा उपाधि उचालेको क्यामरुनी टोली दाउफिन्सलाई फाईटिङ खेलाडी भएको संकेत दिए । उनले थपे–‘अफ्रिकन फाईटिङ टिम हो । हिजोको सेमिफाईनलमा उनीहरुको प्रदर्शनले त्यस्तै संकेत गरेको थियो । अफ्रिकनलाई खेलाउने आयोजकको बाध्यता हो । उनीहरुको खेलेर नेपाली फुटबल माथि उठ्न सक्दैन् । उनीहरुको डराउँदा खेलाडीले रियल गेम खेल्नै सकेनन् ।’ उनले विदेशी क्लबसँग सिक्नुपर्ने भन्दै अनुशासित नहुने टिम जो फाईटिङ हो त्यसबाट के सिक्ने भन्दै प्रश्न गरे ।

आर्मी शारीरिक रुपमा फिट छ । अफ्रिकनसँग खेल्दा केही घाईते छन् । तर क्रिटिकल सिचुएसन भने नभएको प्रशिक्षक न्यौपाने बताउँछन् । कप्तान भरत खवासले पोखराको मैदानमा उपाधि जित्ने आफनो सपना भएको भन्दै त्यसलाई साकार रुप दिने टिमले कडा मेहनत गर्ने स्पष्ट पारे । ‘कम्पिटसन बढी हुन्छ । टिमलाई जिताउने मेरो लक्ष्य हुने छ ।’ उनले भने–‘लिगमा पाएको व्यक्तिगत उपाधि इतिहास भईसकेको छ । पोखरामा उत्कृष्ठ देखाउन कुनै कसर बाँकी राख्दिन् ।’

रुस्लान थ्रीस्टारका कप्तान विक्रम लामाले पोखरामा बनाएको साखलाई जोगाउन उद्दत हुने स्पष्ट पारे । ‘साख जोगाउने मात्रै ध्यान हुने छ । गेममा प्रेसर हुन्छ । फाईनल सीमित क्लबले मात्रै खेल्न पाउँछन् । थ्रीस्टार र आर्मी बीचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने छ ।’ दुवै टोलीमा राष्ट्रियस्तरका खेलाडीको बाहुल्यता छ । तर बाजी कसले मार्छ त्यो भने शनिबार पोखरा रंगशाला नै पुग्नुपर्छ । आर्मी जिते इतिहास कोरिने छ भने थ्रीस्टारले जिते उपाधिमा विजेताको हकमा अर्को नाम थपिने छ ।

प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगितामा सर्बाधिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५/१५ हजारसहित ट्रफी प्रदान गरिने सहारा क्लबले छ । प्रतियोगितालाई डेढदशकदेखि हिमश्री फुड्सले मुख्य प्रायोजन गर्दै आएको छ ।

कमेन्टहरु
Loading...