१५ औं आहा रारा गोल्डकपको उपाधि होडमा मनाङ र सहारा

पोखरा, १४ माघ/ १५ औं आहा रारा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र डिफेण्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लब शनिवार पोखराको मैदानमा उत्रिदै छन् । केही दिन पहिल हेटौडामा भएको खेलमा सहारालाई मनाङले १–० ले हराएको थियो । त्यसैको बदला लिने दाउमा सहारा मैदान उत्रिदै छ भने मनाङ जितलाई निरन्तरता दिने दाउमा छ ।

दुबै टिमका प्रशिक्षक तथा टिमक्याप्टेनले उपाधि आफ्नो पक्षमा आउने दावी शुक्रबार भएको पत्रकार सम्मेलनमा दावी गरे । मनाङ मस्र्याङदीका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले आफ्नो टिममा राष्ट्रिय स्तरका स्टार खेलाडी रहेकाले र पोखरा आफुहरुको पनि होम ग्राउण्ड भएका कारण विजयी आफुहरु नै हुने दाबी गरे । ‘विपक्षी टिम राम्रै छ । हाम्रो अहिले टिम सेटनै बलियो छ । राष्ट्रिय खेलाडी पनि धेरै छ ’ उनले भने । मनाङका टिम क्याप्टेन अनील गुरुङले फाइनल खेलका लागि कुनै दवाव नरहेको बताए ।

सहाराका प्रशिक्षक किरण श्रेष्ठले मनाङ बलियो टिम भएपनि जितको रणनीतिका साथ खेल्ने बताए । उनले घरेलु मैदानको फाइदा उठाउन सहारा तयार गरेको बताए । उनले सहाराबाट दुई जना नयाँ खेलाडी मानबहादुर तामाङ र हेम गुरुङलाई फाइनलमा उतार्ने बताए । सहाराका टिम क्याप्टेन उत्तम गुरुङले उपाधि जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘ जित्छौ भन्ने आश छ । राम्रै हुन्छ भन्ने विश्वास छ । ’

सहारा पहिलो चरणमा सुदुरपश्चिम, क्वाटरफाइनलमा युनाइटेड सिक्किम भारत र सेमिफाइनलमा आर्मीलाई हराउदै उपाधि नजिक आएको हो । मनाङ क्वाटरफाइनलमा धरान फुटबल क्लब र सेमिफाइनलमा संकटा क्लबलाई हराउदै उपाधि होडमा आएको हो ।

आहा रारा गोल्डकपको उपाधिका लागि आयोजकको टिम र मनाङ दोस्रो पटक भिड्न लागेका हुन् । यसअघि १२ औं आहा रारा गोल्डकपको फाइनलमा सहाराले मनाङलाई १–० ले हराउदै उपाधि चुमेको थियो । आयोजकको टिम उपाधिका लागि भिड्न लागेको यो तेस्रो पटक हो ।

यसअघि ११ औं संस्करणको उपाधि होडमा थ्रिस्टरसँग पराजित हुदै सहारा उपविजेतामा सिमित भएको थियो । आहा रारामा ९ पटक फाइनल पुगेर चार पटक उपाधि उचालेको मनाङ अघिल्लो बर्षको विजेता टिम हो । मनाङले यसअघि दोस्रो, तेस्रो, १० औं र १४ औं संस्करणको उपाधि उचालिसकेको छ ।

कमेन्टहरु
Loading...