पोखरा स्पोर्टस अवार्डमा कुमार र अरुणा वर्ष उत्कृष्ट खेलाडी, रानाभाटलाई लाईफटाईम अचिभमेन्ट अवार्ड

पोखरा, २२ साउन/पोखरा स्पोर्टस अवार्ड–२०७३ मा लन टेनिस खेलाडी कुमार अधिकारी र भलिवलकी अरुणा शाही वर्ष उत्कृट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार पोखरामा गरेको दोश्रो संस्करणको ‘पोखरा स्पोर्टस अवार्ड–२०७३’ मा अधिकारीले वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड र शाहीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड चुमेका हुन् ।

पूर्व अन्र्तराष्ट्रिय धावक खड्गबहादुर रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । मञ्चले अवार्ड वितरणको अवसर पारेर रानाभाटलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो । कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले ताम्रपत्र प्रदान गर्दै दोषल्ला ओढाएका थिए भने नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले बुके र आयोजक खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकले माला लगाएर सम्मान गरेका थिए ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका अधिकारीले क्रिकेटका करण केसी र ह्याण्डवलका विशाल वस्नेतलाई पछि पार्दै अवार्ड हात पारे । अवार्ड वितरणमा अनुपस्थित अधिकारीको अवार्ड उनका बुबा दुर्गाबहादुर अधिकारीले थापे । पाँच वर्षसम्म राष्ट्रिय च्याम्पियन कुमार सन् २००७ देखि २०१२ सम्म नम्बर वान खेलाडी हुन् । अधिकारीले गत साल भएको सातौं राष्ट्रिय खेलकुदमा टिम ईभेन्ट र डबल्स ईभेन्टमा स्वर्ण तथा एकल प्रतिष्पर्धामा काश्य पदक जितेका थिए ।

त्यस्तै सातौं राष्ट्रिय खेलकुदमा भलिवलमा काश्य पदक ल्याउन महत्वपूर्ण भूमिका खेलेकी अरुणा शाहीले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितिन् । वर्ष उत्कृष्ट खेलाडीको विधामा नोमिनेसनमा परेका फुल कन्ट्याक्ट कराँतेकी सुस्मी श्रेष्ठ र भारत्तोलनकी टीकामाया गुरुङ्गलाई पछि पार्दै अरुणाले अवार्ड चुमेकी हुन् ।

यसैगरी, उदीयमान वर्ष खेलाडी विधामा भलिवलकी ममता डगौराले अवार्ड जितिन् । वर्ष उत्कृष्ट ३ को नोमिनेसनमा परेका एथ्लेटिक्सका दर्शना बुढा मगर र सागर नेपालीलाई पछि पार्दै डगौराले अवार्ड जितेकी हुन् । सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलले भलिवलमा काश्यपदक जित्दा उनी त्यसको सदस्य थिईन् भने क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण जित्दा उनको महत्वपूर्ण योगदान थियो ।

वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका सुनबहादुर लामाले अवार्ड जिते । उनले भारत्तोलनका बखतमान श्रेष्ठ र एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई पछि पार्दै अवार्ड जितेका हुन् । फाईभ डाँन सुनबहादुर निरन्तर खेलकुदमा कृयाशिल छन् । उनको प्रशिक्षणमा खेलाडीले सातौं राष्ट्रिय खेलकुद परिषद्मा राम्रो नतिजा प्राप्त गर्न सफल बनेको छ । साथै विभागीय टीम नेपाल आर्मीका खेलाडीलाई समेत उनले प्रशिक्षण दिँदै आएका छन् ।

वर्ष उत्कृष्ट खेलाडी महिला तथा पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई नगद २५–२५ हजार र अन्य विधाकालाई जनही १०–१० हजारसहित अवार्ड प्रदान गरिएको हो ।

मञ्चले पहिलोपटक थपेको उत्कृष्ट संघको विधामा कास्की जिल्ला लन टेनिस संघलाई अवार्ड प्रदान गरेको छ । वर्ष उत्कृष्ट संघलाई नगद १० हजारसहित अवार्ड प्रदान गरिएको हो । संघले यस वर्ष रंगशालामा रकम संकलन गरेर २ वटा टेनिस कोर्ट निर्माण गर्नुका साथै प्रतियोगितामा समेत आयोजना गरेको थियो । सोही कामको मूल्यांकन गर्दैै संघलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...