रोनाल्डो हिँडेपछि रियल मड्रिडको घरेलु दर्शकको संख्या ओरालो !

एजेन्सी, पुस ४
स्पेनिस रियल मड्रिड यतिबेला नतिजाका हिसाबले सबैखाले प्रतियोगितामा संघर्ष गरिरहेको छ । उसको टोलीमा अनेक उत्तारचढाव देखिँदैछन् । नयाँ प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा रियलले प्रदर्शन सुधार्दै लगे पनि टोलीमा केही खेलाडीको अवस्था भने ठीक छैन ।

यसैबेला रियल अर्को समस्यासँग जुधिरहेको छ । त्यो हो– घरेलु मैदानमा दर्शक अभाव । हो, यो सिजनको सुरुबाटै रियललाई घरेलु मैदानमा दर्शकले विगतजस्तै साथ दिएका छैनन् ।

र, धेरैले यसलाई क्रिस्टियानो रोनाल्डोको बहिर्गमनलाई मुख्य कारण मानेका छन् । ९ वर्ष रियलमा बसेर यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर युभेन्टस गएका रोनाल्डोको असर रियलमा विभिन्न पक्षमा देखिँदैछ । त्यसको असर दर्शकको संख्यामा पनि परेको छ ।

जानकारहरूका अनुसार रोनाल्डो हिँडेपछि रियलले ठूलो संख्यामा घरेलु समर्थक गुमाएको छ । धेरैजसो रोनाल्डोका फ्यान अहिले युभेन्टसका फ्यान भएकाले उनीहरू रियलको घरेलु रंगशालामा नपुग्दा रियल मड्रिडलाई दर्शक अभाव भएको बताइन्छ ।

तथ्यांक हेर्दा पनि गत शनिबार मात्रै रियलले ला लिगाअन्तर्गत आफ्नो घरमा रायो भालेकानोविरुद्ध आफ्नो घरमा खेल्दा दर्शक मुस्किलले साढे ५५ हजार दर्शक मैदानमा थिए ।

त्यसअघि कोपा डेल रे फुटबलअन्र्तत भएको मेलिल्लाविरुद्धको खेलक्रममा पनि रियलको घरमा पर्याप्त दर्शक देखिएनन् । सो खेलमा जम्मा ५५ हजार २ सय मात्रै दर्शक बेर्नाबेउ पुगेका थिए । त्यसैगरी, युरोपियन च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा रसियन क्लब सिएसकेए मोस्कोविरुद्धको खेलमा त दर्शकको संख्या निकै घट्यो । सो खेलमा साढे ५१ हजार दर्शक मात्र खेल हेर्न पुगे । सो खेल रियलले आफ्नै घरमा ०–३ ले हारेको थियो ।

यो सिजनको आधा खेल सकिँदै गर्दा रियलले आफ्नो घरमा खेलेका खेलमध्ये करिब ७ खेलमा मात्रै ६० हजारभन्दा बढी दर्शक पाएको छ । जबकि, रियल मड्रिडको घरेलु रंगशालाको दर्शक क्षमता ८१ हजार ४४ रहेको छ ।

कमेन्टहरु
Loading...