रोनाल्डो युभेन्टसबाट बालोन डि‘ओर जित्न आतुर छन् : एलेग्री

मंसिर २३
इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले आफ्नो टोलीका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ क्लबबाट विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डि‘ओर जित्न आतुर रहेको बताएका छन् ।

सन् २१०८ का लागि यस अवार्डमा रोनाल्डोलाई पनि प्रमुख दाबेदार मानिएकोमा उनले यसपटक सो अवार्ड जित्न सकेनन् । उनलाई आफ्नै पूर्वटिममेट रियल मड्रिड तथा क्रोएसियका लुका मोड्रिकले पछि पार्दै अवार्ड जिते ।

यसपटकको बालोन डि‘ओर अवार्ड घोषणा हुनुअघि पनि एलेग्रीले पटक–पटक अवार्ड रोनाल्डोले नै जित्ने दाबी गर्दै आएका थिए । र, उनको दाबीले फेल खायो ।

सिरी ‘ए’ मा पछिल्लोपटक युभेन्टसले लिगको १५औं खेलमा आफ्नो घरमा इन्टर मिलानमाथि १–० को जित निकाल्यो । सो जितपछि सञ्चारमाध्यमसँग कुरा गर्दै एलेग्रीले रोनाल्डोले यसपटक अवार्ड नजित्दा निराश नभएको भन्दै उनले इटालीबाट सो अवार्ड जित्ने दाबी गरे ।

रोनाल्डो धैर्यवान् खेलाडी रहेको बताउँदै एलेग्रीले रोनाल्डोले युभेन्टसबाट पनि बालोन डि‘ओर जित्ने विश्वास व्यक्त रे । ‘यसपटक पनि रोनाल्डोले नै बालोन डि‘ओर जित्नुपर्ने थियो । तर, त्यसो भएन,’ एलेग्रीले भने, ‘उनले सो अवार्डका लागि सबैथोक गरेका थिए ।’

एलेग्रीले यसपटक दाबेदारी रहँदारहँदै पनि अवार्ड नजितेका रोनाल्डो झन् उत्साहित भएको बताए । ‘रोनाल्डो आशावादी खेलाडी हुन्, उनले आगामी दिनमा सिजन युभेन्टसबाट यो अवार्ड जित्न चाहन्छन्,’ एलेग्रीले थपे, ‘उनको अहिलेको प्रदर्शनको स्तर सामान्य छैन ।’

यसै सिजनको सुरुमा रियल मड्रिड छाडेर १ सय १७ मिलियन युरोमा युभेन्टस पुगेका रोनाल्डोले क्लबका लागि १० गोल गरेर ७ असिस्ट गरिसकेका छन् । उनले लिगमा ९ गोल र च्याम्पियन्स लिगमा १ गोल गरेका छन् । उनले दुवै प्रतियोगितामा गरेर ७ असिस्टसमेत गरिसकेका छन् ।

रोनाल्डोको अनुबन्धपछि युभेन्टसले अहिले इतिहासकै बलियो सुरुआत गरेको छ । ऊ लिगमा हालसम्म पनि अपराजित नै रहेको छ ।

कमेन्टहरु
Loading...