पाल्पाली समाज पोखराद्वारा अध्यक्ष घिमिरे र सल्लाहकार कुँवरलाई परेको शोकमा दुःख व्यक्त

पोखरा, १४ असार । पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेलाई परेको मातृशोक र समाजका पूर्व सल्लाहकार पत्रकार श्यामनाथ कुँवरलाई परेको पितृशोकप्रति समाजले दुःख व्यक्त गरेको छ । घिमिरेका ममतामयी माता कलाकुमारी घिमिरेको र पत्रकार कुँवरका पिता पदमबहादुर कुँवरको असार १२ गते एकै दिन असामयिक निधन भएको हो ।

समाजका महासचिव श्रीधर पराजुलीद्वारा जारी विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा शोकको यस घडीमा धैर्यधारण गर्ने शक्ति भगवान्ले प्रदान गरुन् भनी हार्दिक समवेदना प्रकट गरिएको छ ।

समाजका अध्यक्ष कुलप्रसाद घिमिरेका ममतामती माता कलाकुमारीको ६४ वर्षको उमेरमा उपचारक्रममा लुम्बिनी मेडिकल कलेज, पाल्पामा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिइन् । स्वर्गीय कलाकुमारीको बुधबार रामनदीमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ ।

उनका श्रीमान् धनप्रसाद घिमिरे, छोराहरुमा कुलप्रसादसहित, घनश्याम र राजु घिमिरे छन् । ३ छोरीमा रेनुका देवकोटा, सावित्री गैह्रे र कमला भण्डारी हुन् । पाल्पाको तानसेन नगरपालिका ९, दमकडा निवासी स्वर्गीय घिमिरेको जन्म २०११ सालमा भएको हो । अध्यक्ष घिमिरे पोखरास्थित आदित्य सप्लायर्स र असिम मसलन्द उद्योगका संचालक समेत छन् । लामो समयसम्म पोखरा जेसिजमा आवद्ध रहेका घिमिरे स्टेशनरी व्यवसायी हुन् ।

यस्तै, समाजका पूर्व सल्लाहकार पत्रकार श्यामनाथ कुँवरका पिता पदमबहादुरको ९१ वर्षको उमेरमा पाल्पाको तानसेन नगरपालिका वडा १४, अर्घलीस्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गीय कुँवरको बुधबार कालीगण्डकीमा अन्त्येष्टि गरिएको परिवारजनले जनाएको छ । उनका श्याम सहित ४ भाइ छोरा र १ जना बहिनी छन् । उनका माताको २०७० सालमै स्वर्गारोहण भएको थियो ।

१९८४ सालमा जन्मेका पदमबहादुर गाउँ पञ्चायतदेखि २०५४ सम्म निरन्तर वडाध्यक्ष निर्वाचित भएका थिए । सामाजिक क्षेत्रमा उनको अतुलनीय योगदान रहेको छ । मानवअधिकार निगरानी समूह कास्कीका अध्यक्ष पत्रकार श्यामनाथ कँुँवर प्रेस चौतारीका केन्द्रीय सदस्य छन् । उनी पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष र हाल केन्द्रीय सभासद् छन् भने समाधान दैनिकमा आबद्ध छन् ।

कमेन्टहरु
Loading...