रिजन ३ का क्लबहरूको संयुक्त पदस्थापन, ८ जना व्यक्तिहरुलाई ह्वील चियर सहयोग

पोखरा, ३ साउन /लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल अन्तर्गत रिजन ३ का ९ वटा क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रममा बुधबार सम्पन्न भएको छ । लायन्स ब्लब अफ पोखरा सृजना चौतारी, ग्रिन टाउन, गतिशील, बिरौटा साझा चौतारी, गतिशील मञ्जरी, फेवा बेगनास चौतारी, युनिटी चौतारी, ग्रिन टाउन र खैरेनीटार क्लबको पदस्थापन सम्पन्न भएको रिजन चियरपर्सन तथा कार्यक्रम संयोजक विधाता श्रेष्ठ द्वाले जानकारी दिइन् । लियो ग्रिन टाउनको पनि पदस्थापन भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले लायन्स लगायतका सामाजिक संघसंस्थासँग सहकार्य गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन् । सामाजिक र राम्रा काम गर्ने संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको कार्यक्रमका प्रमुख अतिथि गुरुङको भनाइ छ । ‘लायन्सले सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण छ,’ उनले भने ।

डिष्ट्रिक्ट गभर्नर तथा पदस्थापन अधिकृत अशोक कुमार श्रेष्ठले क्लबहरूको पदस्थापन गराएका हुन् । डिष्ट्रिक्टको पहिलो पदस्थापन कार्यक्रम रिजन ३ ले गरेको हो । कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले ‘दिएर बाँचौं’ भन्ने डिष्ट्रिक्टको मुख्य थिमलाई मनन् गरी सामाजिक काममा सक्रिय हुन सम्पूर्ण क्लबहरुलाई आग्रह गरेका छन् ।

संयुक्त पदस्थापन कार्यक्रमका बीच क्लबका लायन वर्ष २०१७/१८ का अध्यक्षहरूले लायन वर्ष २०१८/१९ का अध्यक्षहरूलाई पद हस्तान्तरण गरेका हुन् । रिजन ३ अन्तर्गत जोन ५ र ६ छन् । अपाङगता भएका ८ जना व्यक्तिहरुलाई सोही अवसरमा ह्वील चियर वितरण समेत गरिएको छ ।

कार्यक्रममा लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटी, मल्टिपलका फेमिली एण्ड वेमेन कमिटि कोर्डिनेटर ध्रुव थापा, निबर्तमान डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, फस्ट भाइस गभर्नर ईन्दु लम्साल, पूर्व मल्टिपल काउन्सिल चियरपर्सन दीपक श्रेष्ठ लगायतले बोलेका थिए ।

कमेन्टहरु
Loading...