मनाङलाई हराउदै एपीएफ आहा राराको सेमिफाइलनमा

पोखरा, ११ फागुन/पोखरा जारी १७ औ आहा रारा गोल्डकपमा मनाङमस्र्याङ्दी क्लबलाई हराउदै शसस्त्र प्रहरी बलको एपीएफ सेमिफाइलनमा प्रबेश गरेको छ । शनिबार भएको प्रतिष्पर्धात्मक खेलमा एपीएफले मनाङलाई १–० गोल अन्तरले पराजित गरेको हो । एपीएफको जितमा प्रदीप लामाले निर्णायक गोल गरे ।

उनले ७० औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो । सन्तोष श्रेष्ठले मैदानको दायाँ साइडबाट प्रहार गरेको कर्नर किकमा पेनाल्टी एरियाको बिच भागमा अनमार्क रहेका लामाले गरेको हेडर बलले सेकेण्ड बारहुँदै जाली चुमेको थियो ।

शुरुवात देखी नै काउन्टर अट्याकमार्फत गोल गर्ने रणनीति बनाएको एपीएफबिरुद्ध मनाङ पहिलो हाफमा हाबी भयो । लगातार दवाबमा राखेर खेलेको मनाङले पहिलो हाफमा आधा दर्जन गोल गर्ने अवसर खेर फाल्यो । मनाङले तेश्रो मिनेटमै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । मनाङका सुजल श्रेष्ठले पेनाल्टी एरियामा गरेको प्रहार फितलो हुँदा अग्रता लिने मौका गुमायो ।

पहिलो हाफमा केहि कमजोर खेल प्रदर्शन गरेको एपीएफले दोश्रो हाफमा लय समात्यो । पहिलो हाफमा एक पटकपनि मुभ निकाल्न नसकेको एपीएफले खेलको ६८ औं मिनेटमा गोल गर्ने अवसर खेर फाल्यो । एपीएफका आशिष लामाले प्रहार गरेको कडा प्रहार फष्र्टबार हुँदै बाहिरियो ।

खेलको ७० औं मिनेटा प्रदीप लामाको गोलबाट अग्रता लिएपछि झनै हौसिएको एपीएफले ७३ औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर गुमायो । पेनाल्टी एरिया भित्र अनमार्क रहेका आशिष लामाको प्रहार फितलो हुँदा बिपक्षी डिफेन्डर सरोज विकले क्लियर गरे । आइतबारको खेल हिमालयन शेर्पा र नेपाल आर्मी बिच खेल हुनेछ ।

कमेन्टहरु
Loading...