नेपालमा कोरोना भाइरसको जोखिम ! के हुन् लक्षण ? बच्न के गर्न सकिन्छ ?

कृष्ण आचार्य,पोखरा, २२ माघ /नोबेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ । सुरुमा चीनमा देखा परेको र चिनका अधिकाशं भु–भागमा माहामारीकै रुपमा फैलिएको आशंका गरिएको नयाँ भाइरस नोबेल कोरोनाको संक्रमण नेपाल लगायत अन्य देशहरुमा पनि देखा पर्न थालेको हो । दक्षिण कोरिया, थाइल्याण्ड, जापान, फिलिपिन्स, अमेरिका र ताइवानमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

पहिलो पटक चीनको वुहान प्रान्तमा फेला परेको कोरोना भाइरसबाट चिनमा मात्रै हालसम्म ४ सय ९० जनाको ज्यान गएको छ भने चीन बाहिर २ जनाले ज्यान गुमाएका छन ।कोरोनाबाट सङ्क्रमितको सङ्ख्या २० हजार नाघिसकेको जनाईएको छ । चिन बाहिर भने अहिले सम्म फिलिपिन्समा एक र हङकङमा एक जना कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएको छ ।

स्वास्थ्यकर्मीहरुका अनुसार यसको संक्रमण श्वास प्रश्वासको माध्यमबाट सर्ने भएकोले पनि यो भाइरस छिटो फैलिरहेको छ । फिजिसियन डाक्टर बिकास अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका वा रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउने अन्य रोग लागेका ब्यक्तीहरुमा यस्ता भाइरसहरुको संक्रमण अन्य ब्यक्तीको तुलनामा छिटो हुन सक्छ ।यस्ता ब्यक्तीहरुलाई भिडभाडमा नजान तथा जानै परे पनि माक्सको प्रयोग गर्न डाक्टर अधिकारीको सुझाब छ ।मानिसबाट मानिस र जनाबरबाट पनि मानिसमा सर्न सक्ने भएकोले अन्य भाइरस भन्दा यो कोरोना भाइरसको जोखिम अझ धेरै हुन सक्ने डाक्टर अधिकारी बताउछन् ।

नेपालमा यसको जोखिम !

चीनसँग सिमाना जोडिएको र एक बाट अर्को ब्यक्तीमा श्वास प्रश्वासको माध्यमबाट सजिलै सर्न सक्ने भएकोले पनि कोरोना भाइरसको उच्च जोखिममा नेपाल रहन सक्ने डाक्टर अधिकारीको भनाई छ । “रुघाखोकी मात्रै हो क्यारे भनेर हेलचक्राई गर्ने हामी नेपालीको बानी छ तर कोरोना भाइरसको लक्षण पनि अन्य फ्लु सँग मिल्न सक्छ । हेलचक्राई गर्दा यसले समस्या निम्ताउन पनि सक्छ ।” नेपालमा अहिले नै यो भाइरस नफैलिएको भएपनि उच्च सतर्कता अपनाउन भने जरुरी रहेको उनको भनाई छ ।

नेपालमा अहिले सम्म दुईजना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भैसकेको छ । दुई हप्ता अगाडी चिनको वुहान शहरबाट फर्किएका एक नेपाली विद्यार्थीलाई नोवेल कोरोना भाइरसको सङ्क्रमण रहेको भेटिएको थियो भने गत हप्ता मात्रै चीनबाट नेपाल आइपुगेकी एक जना ४८ वर्षकी महिलालाई पनि कोरोना भाइरसको सङ्क्रमण रहेको पुष्टी भएको छ ।

अहिले कोरोना भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । अहिले स्वास्थ्य मन्त्रालयले बिमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरण सहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी गरिरहेको छ भने सिमा नाकाहरुमा थप सतर्कता अपनाईएको जनाएको छ ।

के हो नोवेल कोरोना भाइरस ? कस्ता–कस्ता  लक्षण  देखिन सक्छन् ?

कोरोना भाइरस नौलो विषाणु होइन, यसका पुर्खाहरु सन् १९६० भन्दा पहिलेका मानिन्छन् । यी भाइरसहरु जनवारबाट जनावरमा सर्ने भए पनि कालखण्डमा यिनीहरुको रुप परिवर्तन भएर जनावरबाट मानवमा सरेका हुन् ।

सन् २००२ मा पनि चीनकै ग्वाङ्दोङ्ग प्रान्तमा सेभर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स)को महामारी, सन् २००३ मा हङकङमा प्रकोप फैलिएको थियो । त्यतिबेला २९ देशका सात सय ७४ जनाको ज्यान गएको थियो भने सङ्क्रमितको सङ्ख्या ८० हजार ९ सय ६० थियो ।

सन् २०१२ को जनवरीमा साउदी अरेबियामा मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम ९एमईआरएस० फैलिएको थियो । त्यतिबेला झण्डै दुई हजार पाँच सय जनामा यसको सङ्क्रमण देखिएको थियो भने आठ सय ५८ जनाले ज्यान गुमाएका थिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार अहिले देखिएको नोवेल कोरोना भाइरस रुघाखोकी देखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम जस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन । पहिचान भएका थुप्रै प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका थिएनन् । तर अहिले यसको संक्रमण मानिसहरुमा पनि देखिन थालेको छ ।

नोवेल कोरोना भाईरस खोकी, श्वासप्रश्वास, जनावर तथा नपाकेको मासु आदिबाट मान्छेमा सर्ने जनाईएको छ । छुँदा, नजिकै रहँदा, हात मिलाउँदा, भाइरस रहेको सामान वा कपडा प्रयोग गर्दा पनि यो रोग एकबाट अर्कोमा सर्न सक्छ ।

कोरोना भाईरसबाट संक्रमित व्यक्तिमा ज्वरो आउने र खोकी लाग्ने, छिटोछिटो सास फेर्ने, श्वासप्रश्वासमा कठिनाइ हुने, गम्भीर भएमा निमोनिया हुने, मिर्गौलाले काम गर्न छोड्ने र ज्यान समेत जान सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यो रोगको लक्षण सामान्य रुघाखोकीको जस्तै हुन्छ । संक्रमण नियन्त्रण नभएमा बिरामीको श्वासप्रश्वास प्रणाली फेल भएर मृत्यु हुन्छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका लक्षणहरू –

  • १००४ डिग्री फरेनाईट भन्दा धेरै ज्वरो आउने ।
  • रुघा खोकी लाग्नु ।
  • छिटोछिटो सास फेर्नु ।
  • श्वासप्रश्वासमा कठिनाइ हुनु ।
  • गम्भीर भएमा निमोनिया हुनु ।
  • सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु ।
  • मिर्गौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ ।

यसको संक्रमणबाट जोगिन के गर्न सकिन्छ ?

कोरोना भाईरसबाट डराउने भन्दा सचेत हुन जरुरी देखिएको छ। स्वस्थ्य जिवनशैली अपनाउनु बाहेक अरु विकल्प नरहेको चिकित्सकहरुको सुझाब छ । आफ्नो जिवनशैली स्वस्थ्य बनाएर सजग रहेमा संक्रमणबाट बच्न सकिन्छ र यदी संक्रमण भैहालेमा पनि समयमा चिकित्सकको निगरानीमा जान सकिन्छ। साधारण रुघाखोकी भनेर हेलचक्र्याँई भने गर्न नहुने चिकित्सकहरुको सल्लाह रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यस्ता सुझाव छन् ।

  • नियमित रुपमा साबुन पानीले हात धुने ।
  • खोक्दा र हाछ्र्यु गर्दा नाक र मुख छोप्ने ।
  • माक्सको प्रयोग गर्ने ।
  • यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसंग परामर्श लिने ।
  • फ्लु जस्तो लक्षण देखाउने जो कोहिको सम्पर्कबाट टाढा रहने ।
  • जंगली तथा घरेलु पशुपन्छीहरुसँग असुक्षित सम्पर्कबाट टाढा रहने ।
  • पशुपन्छी जन्य मासु, अण्डा राम्रोसँग पकाएर मात्रै खाने ।
  • कोरोना भाइरस लागेको लक्षण देखिएका मानिस देखि टाढा बस्ने ।

    कोरोना भाइरस
कमेन्टहरु
Loading...