पोखरामा पुष १ देखी पुरुष क्बलस्तरीय लिग भलिबल प्रतियोगिता

पोखरा, २७ मंसिर/ पोखरा रंगशालमा पुष १ गतेदेखि पुरुष क्बलस्तरीय लिग भलिबल प्रतियोगिता आयोजनाको तयारी तिब्र पारेको छ । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा चौथो आर बि.बी एनभिए राष्ट्रिय पुरुष क्लब लिग भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा ३ वटा विभागीय टोली सहित ८ टिमको सहभागीता रहने छ ।

विभागीय टोलीमा राष्ट्रिय खेलाडी छन् । नेपाल पुलिस क्लबमा नेपाली भलिबल टोलीका कप्तान ईम रानाले नेतृत्व गर्ने छन् । उनीसँग कुलबहादुर थापा, विशाल विक र राजु थकाली टिम सेटको रुपमा खेल्ने छन् । शसस्त्र प्रहरी बल(एपीएफ)मा महेन्द्र श्रेष्ठ, मिलन मल्ल र विजय थापा छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा मानबहादुर श्रेष्ठ, नरेन्द्र गिरी, ईश्वर रानामगर(लिबरो), दुर्गा महतो, हरि अधिकारी र राजीव भट्ट छन् ।

विभागीय टोलीलाई चुनौति दिन हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं, मणिमुकुन्द भलिबल क्लब रुपन्देही, जवलाखेल भलिबल ट्रेनिङ सेन्टर, ढोरपाटन स्पोर्टस क्लब काठमाडौं र नयाँबजार स्पोर्टस क्लब काठमाडौं कोर्टमा उत्रिदैं छन् ।

‘विदेशी खेलाडी क्लबले जतिपनि भित्रयाउन पाँउछन् ।’ नेपाल भलिबल संघका सचिव डिबी नेपालीले भने–‘तर सेटमा(गेम खेल्दा) केवल तीन जना मात्रै विदेशी खेलाडी खेल्न पाउँछन् ।’ विभागीय क्लब बाहेक अन्य क्लबले विदेशी खेलाडी भित्रयाउने तयारी गरिरहेका छन् । यद्यपी ठोस निर्णय भने गरिसकेको अवस्था छैन् ।

चारदिनपछि आयोजना हुने प्रतियोगिताको लागि कोर्टमा म्याट ओछ्याईसकिएको नेपाल भलिबल संघका केन्द्रीय सदस्य एवं संयोजक राजकुमार गुरुङले जानकारी दिए । उनका अनुसार ८ क्लबले ७ खेल खेल्ने छन् । ७ खेलमा सबैभन्दा बढी अंक रहेको शीर्ष दुई क्लब बीच फाईनल प्रतिस्पर्धा गराइने उनले बताए । ‘अंकको आधारमा शीर्ष दुईमा रहने टोलीले उपाधिको लागि खेल्ने छन् ।’ उनले भने ।

विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक गुरुङले जानकारी दिए । उनका अनुसार तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ ।

बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ । पोखरामा गत वर्ष सृजना आमन्त्रित अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । पोखरामा आयोजित पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिता सम्भवत पहिलो संस्करण हुने छ ।

प्रतियोगिताले पोखरालाई खेलकुदको राजधानी बनाउन प्रेरित मात्रै नभई पोखराको भलिबल खेलको विकास र विस्तारमा समेत टेवा पुग्ने विश्वास नेपाल भलिबल संघले लिएको छ । प्रतियोगितालाई सफल बनाउन भलिबल संघका सल्लाहाकार पोखरा महानगरपालिकाका बरिष्ठ कानून अधिकृत नारायण शर्माको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ ।

कमेन्टहरु
Loading...