पोखरा रंगशाला फुटबल मैदान निर्माण कार्य ५० प्रतिशत सकियो

पोखरा, २२ असोज / पोखरा रंगशाला फुटबल मैदान निर्माणको काम आधा सकिएको छ । मंसिर १५ देखि शुरु हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि फुटबल मैदानको काम दशैंको छेकोमै काम गरिएको छ । टिकाको दिनमात्रै काम रोकियो । फेरी काम धमाधम शुरु गरिएको भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट मेनेजर दिपक बरालले बताए । उनले ट्रयाक एण्ड फिल्डमा सिन्थेटिक राख्न कालोपत्रे भइरहेको बताए ।

उनका अनुसार मैदानसहित अन्य पुर्वाधार निर्माणको काम ५० प्रतिशत सकिएको बताए । १७ वटा शौचालय निर्माण गरिने छ । अहिले ८ वटा मात्रै निर्माण गरिएको उनले सुनाए । ‘चारवटा ब्लकमा गरी १७ वटा शौचालय छन् । पहिलो चरणमा ८ वटा मात्रै निर्माण गरिदैं छ ।’ उनले भने–‘प्यारापिटको लागि ग्राउण्ड स्ट्याण्डको काम गरिदैंं छ ।’ उनका अनुसार नोभेम्बर ९ देखि दुबो(चपरी) हिड्ने छ । कोलकत्ताबाट चपरी आउन एकसाता लाग्ने छ ।

‘सिट नोभेम्बर ७ देखिबढीमा १२ तारिखसम्म आईपुग्ने छ ।’ बरालले भने–‘दुई प्राविधिकसहितको टोली पोखरा आउने छ । उनीहरुले नै बढीमा दुईसाताभित्र सिट जडान गर्ने छन् । हामीले सहयोगको लागि जनशक्ति मात्रै उपलब्ध गराउने छौं ।’ प्यारापिट स्टिल मोडुलर सिष्टमको हो । सिट धमाधम फोल्डिङ सिष्टमको नटबोल्ड कस्ने प्रकृतिको हो । सम्झौता अनुसार दर्शक क्षमता १६ हजार ५ सय राख्ने निश्चित गरिएको थियो । पछि फेरी ३ हजार ५ सय थप गर्ने सहमतिसँगै दर्शक क्षमता २० हजार पुर्याइने छ ।

तर साग अघि ती सबै सिट भने जडान हुदैनन् । ‘साग अघि हामीले ८ हजारदेखि बढीमा १० हजार सिट जडान गर्छौ ।’ उनले भने–‘ सामान पछि त्यही अनुसार आउने छ ।’ सिटको सामान फ्रान्सबाट पोखराको लागि प्रस्थान गरिसकेको उनले बताए । उनका अनुसार नोभेम्बरको दोस्रो साताभित्रमा पोखरा आईपुग्ने सामान स्वंय फ्रान्सेली प्राविधिकले नै जडान गर्ने छन् ।

मैदान वरिपरीको ट्रयाक एण्ड फिल्डको सामान जर्मनबाट आईसकेको छ । सिन्थेटिक ट्रयाक राख्नुपूर्व कालोपत्रे पीच गरिने उनले बताए । झरीले केही दिन लम्बिएको छ । कालोपत्रे पीच गरेपछि सिन्थेटिक ट्रयाक राख्ने काम पुरा गर्ने योजना कम्पनीले बनाएको छ । ट्रयाक र फुटबल मैदानमा घाँसको चपरी विछ्याउने काम लगभग एकै समयमा हुने सम्भावना देखिएको छ । कोलकत्ताबाट ६ वटा ट्रकमा ९ हजार टुक्रा(१० बर्ग फिट) आउने छ । फुटबल मैदान निर्माणले सागसँगै पोखरामा आयोजना हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न सहज हुने छ ।

कमेन्टहरु
Loading...