पोखरा रंगशालामा स्पोर्टस मेडिकल सेन्टर स्थापना गर्न १५ लाख विनियोजन

पोखरा, ८ असार/खेल्ने क्रममा लडेर चोटपटक लागि घाईते हुने खेलाडीको अब रंगशालामै उपचार हुन्छ । चोटपटक होस या डिहाईड्रेसले अचेत भई मैदानमै ढल्ने खेलाडीलाई बेडमै राखेर उपचार गरिने छ ।

दक्षिण एशियाली खेलकुद(साग)को तयारी छ । सागलाई लक्षित गर्दै पोखरा रंगशालाभित्र स्पोर्टस मेडिकल सेन्टर स्थापना गरिने छ । मेडिकल सेन्टरको लागि राष्ट्रिय खेलकुद परिषदले १५ लाख रुपैयाँ छुट्टाएको छ ।

छुट्टाइएको बजेटले रंगशालाभित्र ५ बेड राखेर घाईते खेलाडीको उपचार गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । मेडिकल सेन्टर बहुउद्देश्यीय कभर्ड हलभित्र स्थापना गरिने छ ।

‘रंगशालामै अब स्पोर्टस मेडिलक सेन्टर स्थापना गर्ने छौं ।’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले भने–‘बढीमा पाँच वेड राखिने छ । चिकित्सक र नर्स भने प्रतियोगिता अवधिको लागि स्वयंसेवक रुपमा परिचालन गरिने छ ।’ उनले परिषदले बजेट विनियोजन गरेपछि स्पोर्टस मेडिकल सेन्टरको अभियानले सार्थकता पाएको हो । पोखरा रंगशालामा लामै समयदेखि मेडिकल सेन्टर स्थापना गर्ने पहलकदमी भएपनि पुरा हुन सकेको थिएन् ।

रंगशालाभित्र मेडिकल सेन्टर स्थापना गर्ने तयारी गरिरहँदा लामो समयदेखि थन्किएको उपकरणजडित एम्बुलेन्स(बस) जिल्ला खेलकुद विकास समिति कास्कीलाई हस्तान्तरण गर्ने गृहकार्य गरिएको छ । खेलकुद विकास समितिले पनि उपकरण जडित बसलाई पोखरा रंगशालाभित्र ल्याई खेलाडीको उपचारमा सहजताको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)लाई पत्रचार गर्ने जनाएको छ ।

एम्बुलेन्स २०७० सालदेखि अस्पतालमै थन्किएको छ । फाउण्डेशनका तत्कालिन अध्यक्ष डा यामागुचीले तत्कालिन स्वास्थ्य मन्त्री खगराज अधिकारीलाई हस्तान्तरण गरेका हुन् । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यसहित हस्तान्तरण गरिएको एम्बुलेन्स रंगशालामा राखिए प्रतियोगितामा घाईते हुने खेलाडीको तत्कालै उपचार गर्न सकिने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले सुनाए । ‘खेलाडीलाई रंगशालाभित्रै घाईते भए एम्बुलेन्समा हालेर अस्पताल दौडाउनुपर्ने अवस्थाको अन्त्य गर्ने छौं ।’ उनको भनाई थियो ।

एम्बुलेन्समा एक्स रे मेशिन तथा बेड समेत छ । बस नेपाली बजार मूल्य अनुसार एक करोड भन्दा बढी पर्छ । महानगरपालिका वा खेलकुद संस्थालाई हस्तान्तरण गर्ने तर्फ प्रतिष्ठानको सोच भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान)का निर्देशक डा. अर्जुन आचार्यले बताए । ‘स्पोर्टसलाई बढी उपयुक्त हुन्छ’ उनले भने—‘खेलकुदले चलाउन मागे हस्तान्तरण गर्छौ ।’ उनले कुनै संस्थाले सहकार्य गरेर चलाउन चाहेमा पनि दिन सकिने स्पष्ट पारे ।

कमेन्टहरु
Loading...