सडन डेथमा मनाङलाई हराउदै क्यामरुनी टोली पोखरा कपको फाईनलमा

पोखरा, २६ माघ/लिग च्याम्पियन सिक्नेचर मनाङ मस्र्याङ्दीको चुनौतिलाई सडन डेथमा पन्छाउँदै पहिलो पटक सहभागि बनेको पाहुना टोली क्यामरुनको डफिन्स फुटबल क्लब परिवार मनकामना केवलकार पोखरा कपको फाईनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा सडन डेथमा क्यामरुनी टोलीले मनाङमाथि ५–४ गोल अन्तरले पराजित गर्दै उपाधि निकट पुग्यो ।

निर्धारित समय र थपिएको समयमा १–१ गोलको बराबरी पछि निर्णय पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा पनि ५–५ ले प्रहार गर्दा समान ४–४ गोल हुन पुग्यो । दुवै तर्फ एक एक खेलाडीको पेनाल्टी चुकेपछि निर्णय फेरी सडन डेथ तर्फ धकेलियो । सडन डेथमा मनाङका विमल रानाको प्रहार बाहिरिएपछि उपाधि होडबाट बाहिरिन पुग्यो । क्यामरुनी अन्तिम पेनाल्टी हानेका जो अंगोालो प्रहार गोलमा परिणत भएपछि १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोली फाईनल खेल्ने सपना साकार बन्यो ।

निर्धारित समयमा कमब्याक गरेको मनाङ पेनाल्टीमा चुक्दा उपाधि उचाल्ने सपना अधुरो भयो । ६६ औं मिनेटमा क्यामरुनी टोलीले गोलको खाता खोल्दै दबावमा परेको मनाङले खेल सकिन दशमिनेट अघि मात्रै गोल फर्काए । बराबरीले खेल रोमाञ्चक मोडमा आईपुग्यो ।

६६ औं मिनेटमा इकुमको लङपासलाई उरेल इनामेले हानेको हेडिङ गोलमा परिणत भएपछि हिलाम्य मैदानमा क्यामरुनी टोलीले स्पष्ट अग्रता लियो । शारीरिक रुपमा निकै बलिया क्यामरुनी टोली अघि केही छरितो प्रदर्शन गर्दै सम्हालिएको मनाङले गोल भने ८० औं मिनेटमा फर्काउँदै आफुलाई उत्कृष्ठताको संकेत देखायो । विमल रानाको पासलाई अफ्रिकन खेलाडी ओलावालेको हेडबल गोलमा परिणत भएपछि मनाङले निर्धारित समय बराबरीमा टुग्याउँदै दर्शकको मनोबल साथमा लिईरह्यो ।

पोखराकपको फाईनल आईतबार क्यामरुनी टोली डफिन्स फुटबल क्लब परिवारले उपाधिको लागि शसस्त्र प्रहरी बलसँग खेल्ने छ ।

कमेन्टहरु
Loading...