पोखरा, २२ भदौ/ इण्डोनेसियामा सम्पन्न १८ औं एशियाली खेलकुद प्रतियोगितामा प्याराग्लाईडिङ तर्फ
ऐतिहासिक रजत पदक विजेता खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश सरकारले नगदसहित सम्मान गर्ने
निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको निर्णयले खेलाडी तथा अफिसियललाई सम्मान गर्ने निर्णय
गरेका हुन् ।
नेपालले २० वर्षपछि प्याराग्लाइडिङ पुरुष क्रसकन्ट्री टिम इभेण्टमा रजत पदक जितेको हो । जापानसँग २७
अंकले पछि पर्दै रजतमा चिक्त बुझाएको नेपाली टिम एकसाता अघि मात्रै नेपाल फर्किएको थियो । संघीय
सरकारले पदक विजेता खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरे लगत्तै पोखरा ओर्लिएको
टोलीलाई गृहनगरमा भव्य स्वागत गरिएको थियो ।
सरकारले खेलाडीलाई पाँचलाख, प्रशिक्षकलाई ३ लाख र व्यवस्थापकलाई डेढलाख रुपैयाँ उपलब्ध गराएको थियो
। नेपाली टिमका कप्तान विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विशाल थापा र विजय गौतमले
प्रतिस्पर्धा गरेका थिए । प्रशिक्षकमा योगेश भट्टराई, सानोबावु सुनुवार र व्यवस्थापकमा शैलेन्द्र रावत थिए ।
महिला तर्फ त्रिशा श्रेष्ठ, सविता तामाङ र प्रतिभा भुजेलले सहभागिता जनाई स्वदेश फर्किएका थिए । महिला
तर्फ नेपाली टिमले उत्साहजनक प्रदर्शन भने हुन सकेन् ।
गण्डकी प्रदेश सरकारले पदक विजेता खेलाडीलाई जनही नगद १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रशिक्षक र व्यवस्थापकलाई नगद २५–२५ हजार रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको छ । दुई दिन
अघि मात्रै पोखरेलीले पदक विजेता खेलाडीलाई ‘राष्ट्रिय हिरो’ लेख्दै नगरपरिक्रमा गराई नागरिक अभिनन्दन
गरिएको थियो ।
जिल्ला खेलकुद विकास समिति, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा नेपाल हवाई खेलकुद
संस्था(ना)को संयुक्त आयोजनामा विमानस्थल उत्रिएलगत्तै खेलाडी तथा अफिसियललाई नगरपरिक्रमा
गराउँदै नागरिक अभिनन्दन गरिएको थियो । त्यसपछि पोखरा रंगशालामा युवा तथा खेलकुद मन्त्री
जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतको उपस्थितिमा
विभिन्न संघसंस्थाले दोसल्ला ओढाई नगदसहित सम्मान गरिएको थियो ।
नेपाल भुतपुर्व खेलाडी मन्चले नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । परिषदका पुर्व सदस्य राजेश
गुरुङले खेलाडीलाई जनही १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । प्याराग्लाईडिङ पाईलट खेलकुद क्लब,
पर्यटन व्यवसायी, कास्की जिल्ला टेनिस संघ, कास्की जिल्ला व्याडमिन्टन संघ, राष्ट्रिय तथा अन्तराष्ट्रिय
खेलाडी संघ कास्की लगायत विभिन्न संघसंस्थाले सम्मान गरेका थिए ।
पोखराबाट २० वर्ष अघि शुरु भएको प्याराग्लाइडिङले २० वर्षपछि नै रजत पदक जितेर फर्किएको हो ।
सराङकोटमा वर्षेनी आयोजना हुने प्याराग्लाईडिङ प्रतियोगिताले पनि अन्तर्राष्ट्रियस्तरमा पदक जित्ने
सम्भावनाको स्तरसम्म पुर्याएको नेपाल हवाईखेलकुद संस्था नाका अध्यक्ष योगेश भट्टराईले बताए । उनले
पोखरालाई साहसिक खेलकुदको गन्तव्यवस्थल बनाउन प्याराग्लाइडिङको भूमिका अझ गहन हुदैं गएको उनको
भनाई थियो । वर्षेनी खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्दै आएको पोखरामा केही वर्षयता
प्याराग्लाइडिङको वल्र्डकप गर्ने योजना व्यवसायी एवं कम्पनीले गरेका छन् । राष्ट्रिय खेलकुद परिषदका
सदस्य सचिव केशवकुमार विष्टले खेलकुद पत्रकार मन्च गण्डकीले आयोजना गरेको पत्रकार सम्मेलनमा
पोखरामा प्याराग्लाईडिङको वल्र्डकप गर्ने तयारी गरिएको सुनाएका थिए । युवा तथा खेलकुद मन्त्री
जगतबहादुर विश्वकर्माले पनि पोखरामा प्याराग्लाइडिङ खेलको विकास र विस्तारको लागि आवश्यक पुर्वाधार
निर्माणमा सरकारको चासो रहने बताएका थिए ।