पोखरामा ५० हजार घूससहित इन्जिनियर पक्राउ

पोखरा, १४ मंसिर/नहर सम्पन्न भएको कार्य अनुभव पत्रका लिन ५० हजार घूस माग्ने सिँचाई विकास डिभिजन कार्यालय कास्कीका एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार रकमसहित पक्राउ गरेको छ ।

अख्तियारको क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इन्जिनियर गोविन्द भूर्तेललाई पक्राउ गरेको हो । पोखराको बिरौटास्थित सिएम पर्फेक्ट जेभी कन्ट्रक्सनले रुपा गाउँपालिकाको सिद्धमा १ हजार ७ सय मिटर लम्बाईको टाकान्जा टार सिँचाई आयोजना डेढ करोड रुपैयाँको लागतमा बनाएको थियो । आयोजना गत असारमा निर्माण सम्पन्न भएर फरफारकसमेत भइसकेको थियो । त्यसपछि कन्ट्रक्सनले निर्माण कार्य अनुभवको पत्रका लागि कार्यालयमा निवेदन दिएकोमा भूर्तेलले रकम दिएमात्र बनाइदिने भन्दै बार्गेनिङ गर्दै आएका थिए ।

लामो समयसम्म कागज नदिई पैसामात्र मागेपछि कन्ट्रक्सनका कर्मचारीले अख्तियारलाई जानकारी दिएर भुर्तेलले मागेको रकम बुधबार सिँचाई कार्यालय पुगेर दिएका थिए । भुर्तेलले लिएको रकम उनको निवासबाट बरामद भएको अख्तियार क्षेत्रीय कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले बताए ।

कमेन्टहरु
Loading...