ढोरपाटनमा हाइअल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन सम्भाव्यता अध्ययन

पोखरा, २३ कात्तिक/ राष्ट्रिय खेलकुद परिषदले बाग्लुङको ढोरपाटनमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन आवश्यक स्थलगत निरीक्षण गरेको छ । ढोरपाटनको एकै वडाका विभिन्न तीन ठाँउमा जग्गा अध्ययन गरी पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको नेतृत्वमा गएको पाँच सदस्यीय टोली फर्किएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद

विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठको नेतृत्वमा गएको टोलीले सम्भाव्यता अध्ययन गरी फर्किएको हो । ढोरपाटन शिकार आरक्षण क्षेत्रभित्रको जग्गा समेत हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन अध्ययन गरी फर्किएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘ढोरपाटन नगरपालिका वडा नं ९ स्थित जग्गा हेरिएको छ ।’

उनले अध्ययन गरी फर्किएपछि भने–‘तीन मध्ये एक ढोरपाटन शिकार आरक्षण भित्रको एउटा छेउ हो । बाँकी सबै ढोरपाटन भ्यालीको सरकारी पर्ती जग्गा हुन् ।’ पहिलो हेरिएको जग्गा २ हजार रोपनी क्षेत्रफलको फाँट हो । जुन ढोरपाटन भ्यालीमा पर्छ ।

त्यसपछि ४० रोपनीको अर्को स्थल हेरिएको उनले सुनाए । त्यसपछि शिकार आरक्षण क्षेत्रभित्रको झण्डै १ सय रोपनी हेरेर फर्किएको क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक इन्जिनियर प्रनिस ताम्राकारले सुनाए । सम्भाव्यता अध्ययन र आवश्यक सर्भेको लागि राष्ट्रिय खेलकुद परिषदले ३० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।

तर विनियोजित रकम भने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको खातामा आईसकेको छैन् । परिषदले मनाङको तिमाङमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गरिसकेको छ । एक करोड ४३ लाखको लागतमा फुटबल मैदानसहितको तालिम केन्द्र बनाईएको हो । गण्डकी प्रदेश सरकारले पनि मुस्ताङमा हाई अल्टिच्युड खेलकुद तालिम केन्द्र निर्माण गर्ने जनाउँदै आएको छ ।

ढोरपाटन क्षेत्र पोखरादेखि २ सय ४ किलोमिटरको दुरीमा छ । पोखरादेखि बाग्लुङ ७२ किलोमिटरको दुरीमा पर्छ । बाग्लुङदेखि बुर्तिबाङ एकसय किलोमिटर र बुर्तिबाङदेखि ढोरपाटनसम्म ३२ किलोमिटरको दुरी रहेको छ । ढोरपाटन समुद्री सतहदेखि झण्डै २ हजार ८ सय मिटरको उचाईमा पर्छ ।

हाई अल्टिच्युड खेलकुद तालिम केन्द्रको लागि फुटबलको ट्रयाक एण्ड फिल्ड, एकेडेमीक भवन, होस्टेल ब्लक, मेडिकल, फिटनेस सेन्टर, अनुसन्धान केन्द्र लगायतका पुर्वाधार निर्माण गर्नुपर्ने हुन्छ । ‘अर्बौ रुपैयाँको प्रोजेक्ट हुन्छ ।’ प्राविधिक ताम्राकारले भने ‘पुर्वाधार अनुसार लगानी बढ्दै जान्छ ।’

ढोरपाटन क्षेत्र

प्रधानमन्त्री भ्रमणको समयमा खुल्ला ठाँउ देखेपछि खेतीको लागि सर्वसाधारणसँग आग्रह गरेका थिए । तर पर्ती जग्गा भएकोले उपयोग गर्न नपाएको जानकारी दिएपछि प्रधानमन्त्रीले खेलुकद मन्त्रालय मार्फत खेलकुदको हाई अल्टिच्युड तालिम केन्द्र निर्माणको लागि सल्लाह गरेपछि अध्ययन शुरु गरिएको थियो ।

ढोरपाटनमा हाइअल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन सम्भाव्यता अध्ययन
ढोरपाटनमा हाइअल्टिच्युड खेलकुद तालिम केन्द्र बनाउन सम्भाव्यता अध्ययन

ढोरपाटन नगरपालिका वडा नं ९ ले सम्बन्धित जग्गाको भोगचलन लिखित रुपमा खेलकुद मन्त्रालयको मातहतमा आएको अवस्थामा सर्भेको काम अघि बढाईने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष श्रेष्ठले सुनाए । ‘वडाले ब्लु प्रिन्टसहित भोगाधिकारको पत्र खेलुकदलाई दिएको अवस्थामा आवश्यक सर्भेसहित डिपिआर बनाउने छौं ।’ उनको भनाई थियो ।

स्थलगत अध्ययनको लागि श्रेष्ठसँगै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ र जिल्ला कोषाध्यक्ष दिपकबहादुर गोदारको टोली ढोरपाटन पुगेर फर्किएको थियो ।

कमेन्टहरु
Loading...