गण्डकी प्रदेश, आर्मी, पुलिस र एपीएफ सेनापति कप भलिबलको सेमिफाइनलमा प्रबेश

फाइल तस्बिर

काठमाडौं, २३ जेठ/ गण्डकी प्रदेश, नेपाल आर्मी, नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश नम्बर ३ लाई ३ ० को सोझो सेटमा पराजित गर्यो ।

जितसंगै समूह ’ख’ बाट पुलिसले ४ खेलबाट १२ अंक जोड्यो । र, समूह विजेता बन्दै अन्तिम चारमा प्रबेश गरेको हो । प्रदेश ३ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट उपविजेता बन्दै गण्डकी प्रदेश सेमिफाइनलमा प्रबेश गरेको छ । गण्डकीले ४ खेलबाट ९ अंक जोड्यो ।

यस्तै बिहीबार नै भएको खेलमा एपीएफले प्रदेश १ लाई ३ ० को सोझो सेटमा पराजित गर्यो । र, समूह ’क’ बाट समूह विजेता एपीएफले सेमिफाइनलमा स्थान बनायो । जितसंगै एपीएफले ४ खेलबाट १२ अंक जोड्यो । प्रदेश १ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यस समूहबाट आयोजक त्रिभुवन आर्मी क्लब समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रबेश गरेको छ । आर्मीले ४ खेलमा ९ अंक जोडेको छ । फाइनल प्रबेशका लागि नेपाल पुलिस क्लबले साबिकको विजेता आर्मीसंग खेल्नेछ । यस्तै एपीएफले गण्डकी प्रदेशसंग खेल्नेछ । सेमिफाइनल खेल शुक्रबार हुनेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् भने उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...