‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप’मा नेपालले सहभागिता जनाउने

पोखरा । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५ औं ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ । नेपाल पावर लिफ्टिङ एसोसिएसनले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नेपालको तर्फबाट ४ पुरुष र १ महिला गरी ५ खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका हसन गुरुङले ८० केजी, राजेश सुवालले ९० केजी, सुजन आलेले ७५ केजी, आशिष आलेले १०० केजी र श्रुती कार्कीले ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने एसोसिएसनका अध्यक्ष सुन्दर भुसालले जानकारी दिएका छन् । उनका अनुसार नेपाली खेलाडी तथा प्रशिक्षक, व्यवस्थापकसहित ८ सदस्यीय टोली डिसेम्बर ३ मा भारत प्रस्थान गर्नेछ ।

कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको एसोसिएसनका अध्यक्ष भुसाल बताउँछन् । उनले भने, ‘हामीले संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराउँदैछौं, हालको विषम अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुनु नै ठूलो कुरा हो ।’

एसोसिएसनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ । यसअघि गत चैत १२ गतेदेखि सो प्रतियोगिता तय भएकामा कोरोनाका कारण पछि धकेलिएको बताइन्छ ।

प्रतियोगितामा नेपालसहित २५ राष्ट्रले सहभागिता जनाउने एसियन पावर लिफ्टिङ महासंघका उपाध्यक्ष जीवन गिरीले जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले खेलकूदका माध्यमबाट राष्ट्रलाई चिनाउनका लागि खेलाडी उत्पादन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्ने बताए । रासस

कमेन्टहरु
Loading...