काठमाडौं । लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।
बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको बैंकका अध्यक्ष भरतराज ढकालले जाकारी दिएका छन् ।
भर्चुअल माध्यमबाट भएको सो प्रतियोगितामा ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र इथियोपियाको एकएक लघुवित्त संस्था छनोट भएका थिए । सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद १ लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिएका छन् ।
सो पुरस्कार रकमबाट न्युन आय भएका सदस्यलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्य गरिने जनाइएको छ । बैंकको ४२ जिल्लामा रहेका १ सय ३८ मध्ये १ सय १८ वटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
साना तथा लघु बैंकिङअन्तर्गत १ लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यले प्रत्यक्ष सेवा लिइरहका छन् भने यो क्षेत्रमा १७ अर्बभन्दा बढी लगानीमा रहेको जनाइएको छ । रासस