चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेसी झार्न थालियो

लमजुङ । चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेसी झार्न थालिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थालेका छन् । गोठालाले आ–आफ्ना भेडाका बथान बेसी झार्न थालेका हुन् । घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेडीगोठ रहेका छन् ।

उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली पेसाका रुपमा भेडीगोठलाई लिइन्छ । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको घलेगाउँका केशबहादुर गुरुङले जानकारी दिए । उनले भने, ‘घलेगाउँको २ भेडीगोठ रहेका छन् । यी भेडीगोठमा १ हजार २ सयभन्दा बढी भेडाबाख्रा रहेका छन् ।’ हिमालको काखमै रहेको ठूले लेकमा पुगेर केहीहप्ता अघि गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ ।

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केहीे क्युबे–ल्हेदे आइपुगेको र केही भेडीगोठ गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् ।

जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकोमा अहिले ठूलागीमा झरेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने विगट दूधपोखरी आसपासमा पुगेका भेडीगोठ यतिबेला बेसी झरिसकेका छन् ।

यहाँका भेडीगोठ ६ महिना लेकमा र ६ महिना बेसीमा रहन्छ । बेसी झरेको भेडीगोठ गर्मी सिजन सुरु भएपछि मात्रै लेकमा फर्किन्छन् । जिल्लामा घुम्ती भेडीगोठ ९० रहेको र यी भेडीगोठ लेकबाट बेसी झरिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, ‘भेडीगोठबाट निस्किएको मलबाट खेतबारीमा प्रयोग गरिन्छ ।’

त्यस्तै, भेडाको ऊन निकालिन्छ । केन्द्रका अनुसार जिल्लाभर २३ हजार भेडीगोठ छन् । वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी ३ सय मूल्य रहेको छ । त्यस्तै, वार्षिक १ सय ६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट ८ करोड आम्दानी हुने गरेको जनाइएको छ ।

वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु १ सय २० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएको बाख्रा गरी वार्षिक १ हजार २ सय मेट्रिक टन मासु उत्पादन हुँदा ६० करोड आम्दानी हुने गरेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...