संक्रमित हुनुअघि कोरोना नियन्त्रणमै तल्लीन उपमेयर गुरुङ

रिना थापा । 
बिहीबार पोखरा महानगरपालिका उपप्रमुख मन्जुदेवी गुरुङले आफुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी दिईन् । नागरिकको सेवामा खटिँदाखटिँदै अन्ततः उनी पनि यसबाट अछुतो रहिनन् ।

सरकारले चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन घोषणा गरेको थियो । केन्द्र सरकारदेखि स्थानीयतहमा कोरोना नियन्त्रणका लागि विभिन्न कार्यक्रम पनि आयो । जसअनुरुप पोखरा महानगरपालिकामा पनि कोरोना संक्रमण कोभिड–१९ नियन्त्रण मूल समिति बनाईयो । जसको संयोजक उपप्रमुख गुरुङ हुन् । सुरुवाती दिनदेखिनै कोरोना नियन्त्रणमा खटिएकी उपमेयर भने यतिबेला स्वयं आइसोलेशेनमा छिन् ।

उपमेयरका प्रेस संयोजक एकराज गिरीका अनुसार उपमेयरलाई कात्तिक २९ गतेदखि रुघा लागेको थियो । त्यसलगत्तै उपमेयर सेल्फ क्वारेन्टिनमा बसेकी थिइन् । मंसिर ३ गते दिएको स्वाब परीक्षणमा ४ गते बिहान उपमेयरलाई संक्रमण पुष्टि भयो ।  उपमेयर अस्वस्थ हुनुपूर्व उनी महामारीको समयमा समेत फिल्डमा खटिएर दैनिक काम गरिरहेकी हुन्थिन् । जसकारण कार्यावस्थाकै बेला कोरोना संक्रमण भएको हुनसक्ने गिरीको ठहर छ ।

उपमेयर कात्तिक १७ गते वडा नम्बर ११ मा बनिरहेको सडक निर्माण कार्यमा अनुगमनका लागि पुगिन् । सोही दिन उनी वडा नम्बर २५ को स्वास्थ्य चौकी निर्माण अनुगमनमा गएकी थिइन् । त्यस्तै सोही दिन वडा नम्बर १६ को बाटो निर्माणको अनुगमनमा पनि जान भ्याईन् । कात्तिक २० गते उपमेयर महानगरको स्थानीय मल वितरण समितिको बैठकमा समेत सहभागी भएकी थिईन् । गुरुङ उक्त समितिकी संयोजकसमेत हुन् ।

त्यस्तै, बैदाम–पामे–घाँटीछिना मोटर बाटो पिच राम्रोसँग नभएको भन्दै जनगुनासो आएपछि उनी २५ गते प्राविधिक टोलीसहित अनुगमनमा पुगेकी थिइन् । उपमेयर गुरुङ जटिल कोरोना संक्रमित बिरामीहरुलाई उपचारको सेवा सुविधाबारे बुझन मणिपाल शिक्षण अस्पताल समेत पुगेकी थिइन् ।

उपमेयर गुरुङको कार्यव्यस्तता भने यत्ति मात्र हैन । उनी सुरुवाती चरणदेखि नै फिल्डमा खटिएर आफनो बुताले भ्याएसम्म महानगर भित्र कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेकी छिन् । चैत १२ गते बसेको बैठकले उमेयरलाई कोरोना नियन्त्रणका लागि संयोजक तोके लगत्तै उनले महानगर भित्र क्वारेन्टिन र आइसोलेशन बनाउने उपयुक्त स्थानको अनुगमनमा जुटेकी थिइन् । त्यसपश्चात् उनकै रोहबरमा लेकसिटी अस्पताललाई क्वारेन्टीन बनाइएको थियो ।

विभिन्न विद्यालय अनुगमन गरेर १० विद्यालयमा क्वारेन्टिन व्यवस्थापन समेत गुरुङले गरिन् । त्यस्तै, गुरुङले चैत ११ गते देखि जेठ २० गतेसम्म सुत्केरीलाई राहत प्याकेज उपलब्ध गराउन स्वयं घरघरमा पुगेकी थिइन् । महानगरले लकडाउनको समयमा निम्न वर्गका सुत्केरी महिलालाई पौष्टिक आहारको कमी नहोस् भनेर साढे २ महिनाको अवधिमा ६ सय ८० सुत्केरीलाई राहत वितरण गरेको थियो ।

लकडाउनकै अवधिमा गुरुङको नेतृत्वमा ३० सडक बालबालिकालाई उद्धार गरिएको थियो । उनीहरुलाई अन्नपुर्ण गाउँपालिकास्थित लेबाडेमा रहेको चिल्ड्रेन नेपालमा राखिएको थियो । त्यस्तै आइसोलेशन सेन्टर निर्माण गर्न भरतपोखरीमा रहेको निर्माणाधीन महिला सुरक्षा गृहमा ७० जनाको लागि आइसोलेशन निर्माणमा जुटेकी थिइन् । महानगरले अहिले आवश्यक सामान सबै तयार गरेको जनाएको छ ।

उपमेयरकै संयोजकत्वमा पोखरा महानगरपालिकाले नेपालमा नै पहिलोपटक महिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गरेको थियो । नदीपुरमा रहेको पद्य नर्सिङ होमको स्वामित्वमा रहेको तत्कालीन बुद्ध अस्पतालमा ५० जना क्षमता भएको महिला क्वारेन्टिन निर्माण भएको छ, जहाँ अहिले पनि कोरोना संक्रमित महिलाहरु आईसोलेशनमा छन् ।

कमेन्टहरु
Loading...