फाइल तस्बिर
ऋषिकान्त पौडेल
उपल्लो मुस्ताङ उपल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिका वडा नं २ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयले गतवर्ष जाडो सुरु हुनासाथ करीब १ सय विद्यार्थीलाई घुम्ती विद्यालयमा अध्यापनका लागि ल्याउने गथ्र्यो । तर यसपटक कोरोनाकाकारण दिव्यदीपसहित उपल्लो मुस्ताङका सामुदायिक विद्यालयले आफ्ना नानीबाबुलाई यो वर्ष पोखरा नल्याउने भएका हुन् ।
अत्याधिक चिसो छल्न पोखरा झरेर पढ्ने मुस्ताङी विद्यार्थीहरुलाई यस वर्ष कोरोना त्रासले कठ्यांग्रिन बाध्य तुल्याउने भएको हो । अर्थात्, उनीहरुलाई पोखराको घुम्ती विद्यालयमा देख्न पाइने छैन । विगतमा विकट हिमाली जिल्ला मुस्ताङबाट स्कुले बिद्यार्थीहरु मंसीर महिना शुरु नहुँदैै पोखरा झर्थे । तर यसपटक जति नै चिसो बढेपनि पोखरा ल्याउने कुनै तयारी नै नरहेको विद्यालयका प्रधानाध्यापक रामु श्रेष्ठले जानकारी दिएका छन् । ‘मुस्ताङमा चिसो एकदमै बढेको छ, पानी जमेको छ, तर यसपटक घुम्ती विद्यालय सञ्चालन गर्ने अवस्थामा छैनौ’ श्रेष्ठले भने ।
गत वर्षसम्म दशैलगत्तै विद्यार्थीले जाडो छल्ने उपायस्वरुप पोखरा स्थानान्तरणलाई लिएपनि यो वर्ष स्वयं विद्यार्थीका अभिभावकहरु कोरोना त्रासका कारण आफ्ना नानीबाबुलाई गाउँमै राख्न भनेको उनले बताए । यसवर्ष एसइई दिने विद्यार्थीलाई भने पोखरा ल्याएरै अध्यापन गराउने उनले बताए । विद्यालयले पोखराको विजयपुरस्थित आफ्नै घुम्ती विद्यालय भवनमा अध्यापन गराउँदै आएको थियो ।
गाउँपालिकाकै छोन्हुपका ६ प्राथमिक तहका विद्यार्थी पनि जाडो सुरु हुनासाथ पोखराको घुम्ती विद्यालयको सहारा लिने गर्थे । उपल्लो मुस्ताङका विद्यार्थीहरु विगत १२ वर्षअघि देखि जाडोयामका ४ महिना पोखरामा पढ्नका लागि आउने गर्थे । सुरुवाती वर्षमा पोखरास्थित मुक्तिनाथ समाजघरमा कष्टकासाथ अध्ययन/अध्यापन गराईएपछि पछिल्लो समय पोखरा–२५ हेम्जामा आफ्नै भवनमा जाडो महिनाको पढाई हुने गरेको थियो ।
यसरी जाडोयामको घुम्ती विद्यालयमा पढाई संञ्चालन गर्ने विद्यालयहरुमा छोन्हुपका सरस्वती प्रावि, दिव्यज्ञान प्रावि, भृकुटी प्रावि, विरेन्द्र प्रावि, जनप्रभात आधारभूत र बुद्ध प्रावि रहेका छन् । त्यहाँका करीब १ सय ५० जना विद्यार्थी यतिबेलासम्म पोखरा झरिसक्थे ।
जनप्रभात आधारभूत विद्यालयका प्रधानाध्यापक वाङदी गुरुङले पनि यस वर्ष छोन्हुपका कोही पनि विद्यार्थी पोखराको घुम्ती विद्यालयमा नआउने बताए । त्यहाँस्थित वडा कार्यालय, सामाजिक व्यक्तित्व र अभिभावकले नै यसपटक विद्यार्थीलाई पोखरा झर्ने सहमति नदिएको गुरुङले जानकारी दिए । उनले भने ‘पोखरामा कोरोनाको बढी डर छ भनेर यसपटक वडा अध्यक्ष, समाजका गण्यमान्ने र अभिभावकले नै सहमति दिएन, त्यसैले यो साल पोखरा आउउँदैनौ ।’
विगतमा पोखरामा घुम्ती विद्यालय संचालन गर्नेगरी शैक्षिक क्यालेण्डर बनेकोमा यसवर्ष त्यो कार्यान्वयन नै हुन नसकेको उनले जनाए ।
चिसोका कारण बाहिर निस्कन नसक्ने अवस्था हुने भएपछि र पोखरा पनि नझर्ने भएपछि विद्यार्थीको ध्यान पढाईमै रहिरहोस भन्नका लागि स्थानीय शिक्षकहरुले घर–घरमा गएर गृहकार्य गराउने तयारी भएको पनि प्रधानाध्यापक गुरुङले जानकारी दिए । हाल लोमान्थङका विद्यालयहरुमा दोश्रो त्रैमासिक परीक्षा चलेको छ ।

छोन्हुपकै स्थानीय अभिभावक याङ्जेन दोकाले पनि कोरोनाकै डरका कारण यस वर्ष बच्चाहरुलाई पोखरा नपठाउने निधो गरेको बताइन् । कोरोनाभन्दा बरु जाडोमै बस्न केही नहुने भन्दै उनले आफ्नो ६ वर्षिय छोरालाई यो जाडोमा छोन्हुपमै राख्ने बताईन् । ‘पोखरामा कोरोना बढेको छ भन्छन् त्यसैले यसपटक नानीबाबुलाई पोखरा नझार्ने’ दोकाले भनिन् ‘अरु बच्चाहरु पनि झर्दैनन् रे ।’
उपल्लो मुस्ताङका विद्यार्थीमात्रै होईन स्थानीय अभिभावकहरु पनि जाडो छल्न कात्तिकमै पोखरा बसाई सर्थे । तर यसपटक अभिभावकहरु पनि पोखरा झर्ने तयारीमा नरहेको लोमान्थाङस्थित राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक दिवाकर तिवारीले जानकारी दिए ।
तिवारीका अनुसार मंसीर पहिलो सातासम्म सबै सरकारी विद्यालयमा अध्यापन कार्य जारी रहनेछ । तर १५ गतेपछि उपल्लो मुस्ताङमा सवारी साधनसमेत नचल्ने भएको हुँदा बाहिरका शिक्षक त्यस अगावै घर फर्कनेछन् । ‘जाडो सकिएपछि फागुनमा माथि फर्किन्छौ तर अत्यधिक चिसो बढेकाले १२–१३ गते तिर यहाँबाट निस्कन्छौं’ तिवारीले जनाए ।
राष्ट्रिय आधारभूत विद्यालयको भने पोखरामा आफ्नै भवन छैन । विद्यालयले पोखरा –३१ किमबेसीस्थित गोरक्षनाथ प्राविमा ४ महिनाका लागि आफ्ना विद्यार्थी राख्ने गरेको थियो । यसवर्ष कोभिडले निम्त्याएको लकडाउनका कारण विद्यालयमा विद्यार्थी संङख्या पनि घटेको उनले जानकारी दिए ।

चार हजार १ सय मिटरको उचाइभन्दा बढी रहेको उपल्लो मुस्ताङमा तापक्रम माईनस १६–२० डिग्रीसम्म पुग्ने भएकाले पोखरामा घुम्ती विद्यालयको माध्यम अपनाईदै आएको थियो । गाउंमै बसेर पढाउन विद्यालयलाई अत्याधिक चिसो प्रमुख समस्या हुनुका साथै न्यानो ठाउंमा राखेर पढाउन आर्थीक अभाव हुने भएकाले पनि विद्यालयले नै पोखरा झर्ने बन्दोबस्त गर्दै आएको थियो ।
यद्यपि, हिमाली जिल्लाका विद्यालयलाई घुम्ती विद्यालयलाई घुम्ती विद्यालय संचालनार्थ सरकारले वार्षिक ३ लाख ५० हजार रुपैयाँ दिने गरेपनि त्यो माध्यमिक र निम्न माध्यमिकतहका विद्यालयमा केन्द्रित गराईदा प्राथमिक तहका विद्यालय आर्थिक अभाव झेल्नुपर्छ । त्यसो हुँदा विद्यालय व्यवस्थापन समितिले चार महिनाको गाँसबास र शिक्षाको लागि व्यक्तिगत चन्दा र ऋणबाट घुम्ती विद्यालय संञ्चालन गर्दै आएका थिए ।