हुम्ला । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभर शैक्षिक संस्था बन्द गर्नुका साथै जिल्लाका ७ वटै गाउँपालिकामा प्रवेश गर्ने मुख्य नाकामा सुरक्षा जाँचमा कडाइ गरिने निर्णय गरको छ । जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका जिल्लाभरका शैक्षिक संस्था पुनः बन्द हुने निर्णयले विद्यार्थीलाई समस्या बनाउने भएको छ ।
कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका ७ वटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने भएको छ ।
उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो । सम्बन्धित गाउँपालिकाले आफ्ना माताहतका सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन कार्य बन्द गराउनुका साथै बन्द भए नभएको अनुगमन शिक्षा विकास तथा समन्वय एकाइ समिति र गाउँपालिकाले गर्ने भएका छन् ।
नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा ३ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा ५ दिनको अवधिमा ५६ कोरोना संक्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ ।
नाम्खा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका ७ वटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो । कोरोना लक्षणसहित सिकिस्त बिरामीलाई सुविधायुक्त अस्पतालसम्म पु¥याउन कर्णाली प्रदेश सरकारलाई हेलिकप्टरको व्यवस्थाका लागि आग्रह गरिने भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए ।
जिल्लामा रहेका २ वटा भेन्टिलेटरले अपुग हुने भएकाले थप २ वटा प्रदेश सरकारसँग माग गरिने भएको छ । यस्तै सिमकोट गाउँपालिकाले क्वारेन्टिन व्यवस्था गर्ने, जिल्लास्तरको आइसोलेसन र १० शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था सिमकोटस्थित रानीवनमा रहेको साविक चिता अस्पतालको घरलाई भाडामा लिएर जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रअन्तर्गत रहने गरी स्वास्थ्य सेवा कार्यालयले व्यवस्था गर्ने निर्णय गरिएको छ । प्रत्येक गाउँपालिकामा ५ शय्या क्षमताको आइसोलेसन र १५ शय्या क्षमताको क्वारेन्टिनको व्यवस्था गरिने भएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या भयावह हुने अवस्था सिर्जना भएको खण्डमा जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीबाट अपुग भएमा थप स्वास्थ्य जनशक्तिका लागि प्रदेश सरकारसँग माग गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।
जिल्लाका ७ वटै स्थानीय तहमा कोरोना संक्रमणबाट मृत्यु भएको खण्डमा अन्त्येष्टिको व्यवस्था सम्बन्धित पालिकालाई गर्ने जिम्मेवारी दिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताएका छन् । नेपालगञ्ज र सुर्खेतबाट आएका यात्रुको ज्वरो मापन गर्नका लागि सिमकोट विमानस्थलमा राखिएको हेल्थ डेस्कलाई थप व्यवस्थित गरेर आगामी दिनमा सञ्चालन गरिने भएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग भएर सिमकोट पुगेका यात्रुले कोरोना संक्रमण नभएको नक्कली रिर्पोट ल्याएको पाइएमा कोरोना संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गिरीले बताएका छन् । रासस