सन्दीपले होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

काठमाडौं । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।सम्झौता रकम भने उसले खुलाएको छैन ।

सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लाग्नुभएको हो । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए ।

उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।

बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।

अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उनको भनाइ छ । इन्डियन प्रिमियर लिग (आइपीएल) बाट फर्किएका उनी हाल चितवनस्थित घरमा छन् । यस पटकको आइपीएलमा उनले कुनै पनि खेल खेल्न पाएनन् ।

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो ।

कमेन्टहरु
Loading...