पोखरामा थप २ जनाको कोरोनाबाट निधन, फेरी ४ जना नयाँ संक्रमित थपिए

पोखरा । पोखरामा थप २ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । यहाँका फरक–फरक अस्पतालमा उपचारका क्रममा संक्रमितहरुको ज्यान गएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट ज्यान गएको छ । उनको पोखरामा गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।

उनलाई कार्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यस्तै पोखरा १७ की ७८ वर्षीय महिलाले समेत कोरोना संक्रमणबाट ज्यान गुमाएकी छिन् । उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार १ बजेर ५० मिनेट जाँदा ज्यान गएको हो ।

उनलाई कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २६ पुगेको छ ।

यता पोखरामा थप ४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप ४ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखरा ९ का ५७ वर्षीय १ जना पुरुष, वडा नम्बर १० का ४ वर्षीय बालिका तथा ४६ वर्षीय पुरुष र पोखरा ११ का ८० वर्षीय १ जना वृद्धलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस अगाडि आज बिहान स्वास्थ्य निर्देशनालयले उलपब्ध गराएको तथ्यांक अनुसार पोखरामा ४ जनालाई संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म पोखरामा आज ८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० हजार ५ सय १२ पुगेको छ ।

कमेन्टहरु
Loading...