धरान, २३ मंसिर/धरानको निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा आइतबारदेखि जुनियर खेलाडी उत्पादन गर्ने उद्देश्यले सातदिने गल्फ क्लिनिक क्याप सुरु गरिएको छ । धरान गल्फ क्लबको आयोजनामा सुरु भएको क्याम्पमा धरानका तीन स्कुल र गल्फका जुनियर खेलाडीसहित ३० जना सहभागी छन् ।यसको मूख्य प्रायोजन जर्मन नागरिक आन्द्रेस फेयसरले गरेका छन् । उनले खेलाडी उत्पादन र गल्फ बारे जानकारी गराउनकै लागि करिव ३९ हजार रुपैया सहयोग गरेको गल्फ क्लबका अध्यक्ष पूर्ण लिम्बूले बताए ।
किरातेश्वर मावि, जेम्स स्कुल र पर्वत बोर्डिग स्कुलबाट ५ जनाका दरले १५ जना सहभागी हुने छन् भने १५ जना जुनियर खेलाडीहरु सहभागी छन् । उनीहरुलाई व्यवसायिक गल्फर सविन सापकोटाले सातदिनै प्रशिक्षण गराउने छन् । साथमा प्रो. सुमन सापकोटा, प्रो. देउराज पाख्रिन, प्रो. सुमन राई, प्रो. मणी राईले पनि प्रशिक्षणमा सहयोग गर्ने छन् ।
‘जर्मनमा विद्यार्थीदेखि नै गल्फका खेलाडी उत्पादन गर्ने प्रचलन छ, सोही अनुरुप त्यहाकाबासीले धराने गल्फर उत्पादन गर्न रकम सहयोग गरेको हो’ प्रो सविन सापकोटाले भने । यसबाट जुनियर खेलाडीहरु उत्पादन गर्ने लक्ष्य राखेको उनले बताएका छन् । गल्फ खेलको बारेमा जानकारीसहित उनीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गरिने छ ।