काठमाडौं । एनआईसी एशिया बैंकले चालू आ.व. २०७७/७८ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि बैंकले पहिलो त्रैमासिकमा वार्षिक प्रति शेयर आम्दानी रू. ४२.१४ आर्जन गरेको छ ।
गत वर्षको तुलनामा १ प्रतिशतले मुनाफा वृद्धि गरी रू. १ अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ । स्व–पुँजीमा प्रतिफल (RoE) २२.९६ प्रतिशत रहेको छ ।
यस प्रथम त्रैमासिक सम्ममा कर्जातर्फ रू. २९.८ अर्बले वृद्धि भई कुल कर्जा रकम रू. २ सय ३.६ अर्ब पुगेको छ ।
अन्य वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब १२९ अर्बको कुल वृद्धिमा एनआइसीको २३ प्रतिशतको हिस्सा रहेको छ ।
बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ ।
गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८२ प्रतिशत कर्जा रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।
उक्त रणनिती पछि बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.२५ प्रतिशत मात्रै रहेको छ ।
जुन बैंकिङ्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ ।
बैंकको कुल कर्जामा ५ करोड रूपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश ७८.८५ प्रतिशत रहेको छ ।
निक्षेपतर्फ पनि स–साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अनुरुप प्रमुख दश निक्षेपकर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केवल १३.३४ प्रतिशत मात्रै रहेको छ ।
आ.व. २०७६/७७ को लागि हालसम्म आफ्नो लाभांश सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये यस बैंकले सबैभन्दा बढी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
उक्त लाभांश मंसीर २१ हुने बैंकको २३ औं वार्षिक साधारण सभाले स्वीकृत गर्नेछ ।
आर्थिक वर्ष ०७६/७७ को अन्त्यमा कुल आम्दानी, शाखा कार्यालयहरू, एटिएम, POS मर्चेन्ट र QR मर्चेन्टमा वाणिज्य बैंकहरू मध्ये पहिलो भएको थियो ।