रिना थापा
सन् २००७ मा पोखरामा केही भिन्नखाले सुन्दरी प्रतियोगिता भइरहेको थियो । उक्त प्रतियोगिता न महिला न त पुरुषप्रति लक्षित थियो । जुन प्रतियोगितामा एउटा पुरुष नाम ‘विनोद गौतम’ पनि सहभागी थियो । ‘मिस पश्चिमान्चल समलिंगी सुन्दरी प्रतियोगिता’ नामक उक्त ब्युटी पेजेन्टमा सहभागी विनोद गौतमले कुनै टाइटल जितेनन्, तर समाजले उनलाई नयाँ ताज भिराइदियो ‘तेस्रोलिंगी’को ।
त्यही साल र त्यही प्रतियोगिताबाट १७ वर्षअघि पोखरामा जन्मिएका विनोद गौतम ‘बिन्दिया’ बने । बिन्दिया अर्थात नेपाली समाजले पचाउन नसकेको तेस्रोलिंगी । जब उनी बिन्दिया बने त्यसपछि सुरु भयो आफ्नो अस्तित्व र पहिचानको लडाई । पोखरामा आयोजित उक्त सुन्दरी प्रतियोगिता लगत्तै राजधानीमा आयोजित ‘मिस किंग प्रतियोगिता’मा सेकेण्ड रनरअप भएपछि बिन्दिया पोखरामामात्र हैन देशमै चिनिइन् । उक्त प्रतियोगिताले उनमा हिम्मत बढाइदियो, मिडियासँग नजिक तुल्यायो । पोखरा फर्किएर समाज, संस्कार र राज्यसँग अघोषित लडाई सुरु भएको १३ वर्षपछि विन्दियाजस्तै धेरै तेस्रोलिंगी अहिले अरुजस्तै ‘नागरिक’ बन्न सकेका छन् ।
राम्रै परिवारमा जन्मिएका विनोदको बाल्यकाल सुखमय नै रह्यो । उनी बच्चै देखि केटीको हाउभाउ गर्थिन् । केटीको पोशाक लगाउन चाहने केटीसँग केटी नै बनेर भाँडाकुटी खेल्न रुचाउँथिन् । परिवारले बच्चा उमेरमा हो भनेर त्यती ख्याल गर्दैनथे । पछि उमेर बढेसँगै उनको आनीबानीमा परिवर्तन नआएपछि परिवारले गाली गर्न थालेको उनी बताउछिन् ।
‘दशैंमा केटाको कपडा ल्याइदिँदा नाई ! मलाई त फ्रक नै ल्याइदिनुपर्छ भनेर रुन्थे’ उनले भनिन् ‘आमाको सारी लुकाएर लगाउथे चुरा, डोरीहरु लुकीलुकी लगाएर बस्थे ।’ सबैले कराउँथे पनि केटा मान्छे बालक जस्तो हुनुपर्छ भनेर तर उनी मानिनन् ।
त्यहीँ उनको हठले नै उनलाई हौसला दियो । उनी आफु समाजलाई चुनौती दिदै समाजको अगाडि निर्धक्क खुलेर आफनो पहिचान मात्र राखेकी छैनन्, अहिले गण्डकी प्रदेशको नौलो बिहानी पोखराको अध्यक्षसमेत छिन् । तेस्रोलिङ्गीका लागि आवाज उठाउने नीलहिरा समाज जस्ता कैयौं संस्थामा आबद्ध रहेर लडिरहेकी छिन् ।
उनको अस्तित्वलाई समाजले स्विकार्नु त त्यो बखत कल्पना बाहिरको कुरा रह्यो । त्यसमाथि आफनै परिवारले नबुझदा उनको आत्मबल केही समयका लागि तोडिएको थियो ।
उनी ती पललाई नमिठो मान्दै सम्झिन्छिन्, ‘त्यसबेला मिडियामा मेरो अन्तरवार्ता आएपछि समाजमा मलाई हेर्ने दृष्टिकोण नै फरक बन्यो ।’ जब बाटोमा हिड्दा ‘छक्का’ जस्ता शब्द प्रयोग गरेर होच्याउँथे त्यतिबेला भने बिन्दियालाई किन समाजको अघि खुलेछु जस्तो लाग्थ्यो ।
अहिले समय फेरिएको छ । उनी निकै गर्वका साथ भन्छिन् ‘म समाजका अगाडि चिनिएर पोखरामा अरु जस्तै साथीहरुलाई खुलेर आउन सहज भयो ।’ हुनपनि उनको कुरामा यर्थाथता छ । उनी आवद्ध संघसंस्थाले उनी जस्तै व्यक्तिको हकहितका लागि समाजमा लडिरहेको छ ।
उसो त हाम्रो समाजमा मात्र हैन नेपाल सरकारले नै तेस्रो लिङ्गीलाई अपहेलना गरेको छ । संविधानका पानामा उनीहरुको हक अधिकारका लागि ऐन उल्लेख गरिएपनि हालसम्म सरकारी जागिर वा लोक सेवा आयोग जस्ता जागिरमा उनीहरुको सहभागितालाई खुल्ला गरको पाइदैन । नेपालमा ‘अन्य’मा टिक लगाएर नागरिकता निकाल्न पाएको पनि धेरै भएको छैन । यद्यपि, विन्दियाको नागरिकता भने विनोद गौतमकै नाममा छ ।
केही हदसम्म देहव्यापारको नाममा तेस्रो लिंगीहरु बदनाम छन् । तर समाजले देखेर पनि नदेखेको जस्तो गरेको पाटो भने भिन्न छ । उनीहरु आफनै पीडा छ । समाजले स्विकार्न नसकेको पहिचान र सरकारको फितलो कानुन कार्यान्वयनले कतिपय तेस्रोलिंगी यौन व्यवसायमा धकेलिएका छन् ।
उनी भन्छिन्, ‘सरकारी जागिर हामिलाई दिइन्न, नत कुनै संस्थाले हामीलाई जागिर दिन्छ, बाध्यताले कतिपय साथी यौन व्यवसायमा लाग्नुहुन्छ ।’ समाजमा कतिपय तेस्रो लिंगी आफनो व्यवसाय स्थापना गरेर बसेका पनि छन् । तरपनि समाजले उनीहरुलाई नकारात्मक दृष्टिकोणले हेर्ने विन्दीयाको अनुभव छ ।
‘मेरा कति साथिहरु हुनुहुन्छ कोही आफनै बुटिक, पार्लर खोलेर बस्नुभएको छ । कसैलाई राम्रै भन्छन् । कोही साथीले आफनो गरिखाने बाटो खोजे नकारात्मक रुपमा समाज बिगार्न व्यवसाय सुरु गरिस् जस्ता टिप्पणी गर्नुहुन्छ’ उनी दुखेसो पोख्छिन् ।
शारीरिक बनावटको अस्तित्वलाई लत्याएर चुनौती दिनु सहज त पक्कै नहोला । महिला जस्तै बन्नु, महिलाको हाउभाउ गर्नु उनीहरुको व्यवहार बन्छ । तर महिला भएपनि महिलाले अनुभव गर्ने मातृत्व प्रेमबाट वन्चित हुनुपर्दा उनलाई निकै नमज्जा लाग्छ । कुराकानीकैक्रममा विन्दियाले आफु प्रेम सम्बन्धमा रहेको सुनाइन् । त्यो प्रेमिल साथीलाई समाजको अगाडि अपनाउन भने उनलाई ठूलै चुनौती छ ।
‘म अहिले पनि कसैसँग प्रेम सम्बन्धमा छु तर विवाह गर्न सक्दिन वा मिल्दैन भनौं, तरपनि ठिक छ खुशी छु’ उनी भन्छिन् ‘केही समयका लागि प्रेम देखाएर आउने अनि नजिक हुँदै जाने मान्छे धेरै हुन्छन् ।’
आम मानिसका जस्तै चाहनाका पोका बोकेकी विन्दीया ‘आम मानिस’जस्तै भएर बाँच्न पाउनु पर्ने तर्क राख्छिन् । अधिकार र सम्मानप्राप्तीको संघर्षमा निरन्तर रहने सुनाउँदै उनले समस्त नेपालीजनमा तिहारको शुभकामना दिइन् । कोरोना भाइरसबाट सबै सुरक्षित हुन सकौं भन्दै उनले थपिन् ‘लाइफ म्याटर्स ।’
गण्डकी प्रदेशमा तेस्रोलिंगीका हकहितमा काम गर्ने २ संस्था छन् ‘परिवर्तन नेपाल’ र ‘नौलो बिहानी ।’ नौलौ बिहानी पोखरामा पनि छ । संस्थामा हालसम्म करीब ५० जना खुलेर तेस्रोलिंगी भएको तथ्याङक छ । तेस्रोलिंगी हुँ भनि सार्वजनिक हुनेमा पोखरा, स्याङ्जा, बागलुङ र लमजुङका मात्र छन् । संस्थाको सम्पर्कमा ४ हजार बढी लेस्बियन, गे, बायसेक्सुअल, ट्रान्सजेन्डर (एलजीबीटी) रहेका छन् ।