काठमाडौं । कोरोना भाइरसको परीक्षण अबबाट शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा निशुल्क हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण निशुल्क गर्ने निर्णय गरे पछि अस्पतालले सुचना जारी गर्दै अबबाट कोरोना संक्रमणका लक्षण देखिएका बिरामीको पिसिआर परीक्षण निशुल्क हुने जानकारी दिएको हो । अस्पतालका अनुसार कोरोनाका लक्षण देखिएका बिरामीको मात्र परीक्षण निशुल्क हुने छ ।
‘अस्पतालको ओपिडिमा खटिएका चिकित्सक/स्वास्थ्यकर्मीले जाँच गर्दा ज्वरो (१ सय डिग्री फरेनहाइट वा सोभन्दा बढी) देखिएका तथा कोभिड १९ को अन्य लक्षण वा चिन्ह भएको व्यक्तिहरुको निशुल्क पिसिआर परीक्षण गरिने छ ।’ अस्पतालद्वारा आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
लक्षण नदेखिएका बिरामीहरुलाई भने कोरोना परीक्षणका लागि अस्पतालले २ हजार शुल्क तोकेको छ । अस्पतालका अनुसार अबबाट दैनिक निशुल्क तथा सशुक्ल समेत गरे ३ सय जनाको मात्र स्वाब संकलन गरिने भएको छ ।
अस्पतालमा भर्ना भएको कोरोना भाइरस संक्रमितहरुको उपचार समेत निशुल्क गर्ने अस्पतालले सुचनामार्फत् जानकारी दिएको छ ।
तर संक्रमित व्यक्तिले कुनै बीमा कम्पनीबाट कोरोना बीमा गराएको भए सबै परीक्षण तथा उपचार खर्च बीमा रकमबाट गरिने अस्पतालले बताएको छ । ‘कुनै बीमा कम्पनीबाट कोरोना बीमा गरेको भएमा सबै परीक्षण तथा उपचार खर्च निजको बीमा रकमबाट बेहोरिने छ ।’ अस्पतालद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।