कर्णाली प्रतिष्ठानमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुरु

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु भएको छ । यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा सुरु भएको हो । नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले सुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिएका छन् ।

प्रतिष्ठान शिक्षाध्यक्ष डा.निरेश थापाले नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीवासीलाई थप सहयोग पुगेको बताए । यस अघिदेखि प्रतिष्ठानले जिपी इमरजेन्सी मेडिसन, सर्जरी, महिला तथा प्रसुति रोग, मेडिसिन, हाडजोर्नी तथा नसा, मनोचिकित्सा, बालरोग, दाँत, प्याथोलोजी, अप्थलोजी, आइसियु, एनआइसियु, कोरोना आइसियु, पल्मोनोलोजी लगायत सेवा दिँदै आइरहेको शिक्षाध्यक्ष डा.थापाले बताएका छन् ।

‘क्यान्सर, मिर्गौला, न्यूरो स्पाइनल सर्जरी रोगका लागि नेपाल सरकारले प्रतिष्ठानलाई सूचीकृत गर्दैछ ।’ उनले भने, ‘अब कर्णालीका नागरिकले यी जटिल खालका रोगहरुको प्रतिष्ठानबाट निःशुल्क उपचार पाउनेछन् ।’

अस्पताल निर्देशक डा.मंगल रावलले प्रतिष्ठानको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हाँसिल भएको र यसको संस्थागत विकासमा सबै एकाकार भएर लाग्नुपर्ने अपरिहार्यता खट्किएको तर्क गरेका छन् ।

‘प्रतिष्ठानले कर्णाली प्रदेशका १० जिल्लासहित सुुदूरपश्चिम प्रदेशका बझाङ, बाजुरा र अछाममा समेत आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।’ निर्देशक डा.रावलले भने, ‘यसले सेवा क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको अवसर प्रदान गर्दै आएको छ ।’

मेडिकल कलेज भइसकेपछि सरकारले अनिवार्य डाक्टरी पढाई गराउनु पथ्र्यो । यद्यपि कोभिड–१९ को प्रतिकार्य, रोकथाम र नियन्त्रणसमेत पश्चिम नेपालमा प्रतिष्ठान खेलेको भूमिकालाई अध्ययन गर्दै नेपाल सरकारले स्नातकोत्तर चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अनुमति दिइसकेको र केही समयपछि एमबीबीएस पढाईको तयारी हुने उनको भनाइ छ । रासस

कमेन्टहरु
Loading...