दिपक के श्रेष्ठ
तेह्रौ सिजनको इन्डियन प्रिमियर लीग सकिएपछि नेपाली स्पिनर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।
यस सिजनमा जीत निकाल्न नसकेपनि सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सले फाइनलमा पुगेर आफ्नो इज्जत बढायो । दुबई अन्तर्राष्ट्रिय स्टेडियमा फितलो प्रदर्शन गर्दै मुम्बइसँग पराजित भएर दोस्रो स्थानमा चित्त बुझाएको दिल्लीको यो सिजन उपलब्धीमुलक नै रह्यो ।
यसअघिको सिजनमा मैदानमा उत्रिएर सफल प्रदर्शन गरेको सन्दीपले यसपटक भने मौका पाएनन् । उनी एक्स्ट्रा खेलाडीमै सिमित रहे । सम्भवतः निराश बनेर घर फर्किएका सन्दीपले यहाँ आउने बित्तिकै ट्विटरमा लेखे, ‘कथा सकिएको छैन, बिस्तारै सुरु हुँदैछ ।’ ट्विटमार्फत सन्दीपले अष्ट्रेलियामा सुरु हुन लागेको बिग बास लीग (बिबिएल)लाई संकेत गर्दै उक्त ट्विट गरेको अनुमान गर्न सकिन्छ ।
यद्यपि, बिबिएलमा उनी कुन टिमबाट खेल्ने हुन्, टुंगो लागिसकेको छैन । उनका व्यवस्थापक रमन शिवाकोटीका अनुसार सन्दीप मेलबर्न स्टार्सबाट खेल्नेछन् । बिबिएल १० डिसेम्बरबाट सुरु हुँदैछ ।
उनले आइपीएलमा खेल्न नपाएपछि अष्ट्रेलियामा शानदार प्रदर्शन गर्ने संकेतस्वरुप ट्विट गरेको अनुमान छ ।