पोखरा । पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ । तीन महिनाको माग धान्ने गरी पेट्रोलियम पदार्थको भण्डारण गृह निर्माण गर्ने नेपाल सरकारको नीति अनुसार पोखरा भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ । भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
पोखरा महानगरपालिका वडा नं २९ र ३० गगनगौँडास्थित निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत पाँच हजार र पाँच हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क निर्माण गरिने छ । रु ७७ करोड ७७ लाख मूल्य अभिवृद्धि करबाहेकको लगानीमा ट्याङ्की निर्माण गर्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उक्त भण्डारण गृह निर्माण भएपछि कम्तीमा ४० देखि ४५ दिनको इन्धनको माग धान्न सक्नेछ । यो नेपालकै दोस्रो ठूलो भण्डारण गृह हुनेछ ।
हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाका रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि शुरु भएको पनि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए । पोखरा डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुङ्गा सावित हुने उनको विश्वास छ ।
उक्त भण्डारण गृह निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । पहिलोपटक नेपाली ठेकेदारसहित भारतीय निर्माण कम्पनीले परियोजना निर्माण गर्दैछ । आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको आयोजना प्रमुख मनोजकुमार ठाकुरले जानकारी दिए । आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि तोकिएको समयअगावै आयोजना सम्पन्न हुने बताइएको छ । निगमको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका कास्की, पर्वत, स्याङ्जा, बागलुङ, म्याग्दी, मुस्ताङ र तनहुँका केही भागमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ । प्रादेशिक डिपोबाट हाल दैनिक २ सय ४० किलोलिटर डिजेल र १ सय २० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ । यस्तै एक सातामा २० किलोलिटर मट्तिेल बिक्री हुँदै आएको छ । गण्डकी प्रादेशिक डिपोको हालको भण्डारण क्षमता डिजेल २ हजार २ सय ८० किलोलिटर, पेट्रोल ३ सय ५० किलोलिटर र मट्टिलेल ७ सय ६० किलोलिटर रहेको छ ।
नयाँ भण्डारण गृह बनेपछि हाल डिजेल भण्डारण हुँदै आएको टयाङ्कीमा पेट्रोल भण्डारण गर्ने निगमको योजना छ । निगमसँग हाल मुलुकभर डिजेलको माग आठ दिन र पेट्रोलको माग पाँच दिन धान्ने क्षमता छ । निगमको इतिहासमा झण्डै दुई दशकपछि भण्डारण क्षमता विस्तार हुन लागेको हो । विसं २०५६ यता निगमले नयाँ भण्डारण गृह बनाउन सकेको थिएन । पर्याप्त भण्डारण क्षमता नहुँदा २०७२ सालमा भारतले नाकाबन्दी गर्दा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको थियो । समयमै भण्डारण क्षमता विकास गर्न नसक्दा नाकाबन्दीका बेला इन्धन अभाव भएको भन्दै निगमको चर्को आलोचना भएको थियो ।
‘लामो समयदेखि निगमको भण्डारण क्षमता बढाउन सकिएको थिएन, सरकारको नीति कार्यक्रमअनुसार भण्डारण क्षमता विस्तार गर्ने काम पोखराबाट शुरु भएको छ”, उनले भने , ‘भण्डारण क्षमता विस्तारसँगै सबै प्रादेशिक कार्यालयललाई मजबुद बनाउँदै लैजान्छौँ । दीर्घकालीन रुपमा विभिन्न स्थानमा भण्डारण क्षमता वृद्धि गर्ने लक्ष्य छ ।’ भण्डारण क्षमता बढेपछि बन्द, हड्तालका साथै पेट्रोलियम पदार्थको आपूर्तिमा व्यवधान आएपनि निश्चित समयसम्मका लागि उपभोक्ताले सास्ती व्यहोर्नु नपर्ने उनले बताए ।
गण्डकी प्रादेशिक कार्यालयमा भण्डारण क्षमता निर्माणका लागि पर्याप्त जग्गा भएका कारण पनि पहिलो चरणमा पोखरामा भण्डारण गृह बनाउन लागिएको हो । भण्डारण गृह निर्माण भएसँगै समग्र गण्डकी प्रदेशको वितरण चक्रमा ठूलो प्रभाव पर्ने प्रवक्ता उपाध्यायको भनाइ छ । ‘कथमकदाचित पेट्रोलियम पदार्थको आपूर्तिमा अवरोध भयो भने पनि त्यस क्षेत्रका जनताले निर्वाधरुपमा इन्धनको उपभोग गर्न पाउनेछन्, बन्द हड्तालले कुनै फरक पार्दैन’, उनले भने ।
डिपोमा एक नयाँ पहुँच सडक, दुई लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि नयाँ संरचना निर्माण गरिनेछ । इन्धन भण्डारण टयाङ्क र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्णस्वचालित हुने निगमले जनाएको छ । डिजेल लोड र अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिामा आधारित हुने छ । डिपोका भण्डारण क्षेत्रमा अग्नि सुरक्षाका लागि विशेष प्रविधि र सावधानीका कार्य पनि परियोजनाका शिलसिलामा हुने बताइएको छ ।
नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० टयाङ्करले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । टयाङ्कर अनलोडका लागि प्रतिघन्टा १ सय २० किलोलिटर क्षमताका पाँचवटा पम्प जडान गरिने छ । चारवटा नयाँ ‘वे’ पनि सञ्चालन हुनेछन् । भण्डारण गृहको तापमान, इन्धन चुहावट, आगालागीलगायत दुर्घटना पहिचान गर्न विशेष प्रविधिमा डिपोमा जडान गरिनेछ ।
आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने रिमोट कन्ट्रोल प्रविधिमा राखिने छ । कुनै पनि कारणले डिपोमा आगोलागी भएको खण्डमा करिब दुई घन्टासम्म निरन्तर आगो नियन्त्रणका लागि लड्ने क्षमताको पूर्वाधार डिपोमा बनाइने छ । सत्तरी प्रतिशत पानी र ३० प्रतिशत फोमयुक्त अग्नि नियन्त्रण उपकरणको प्रयोग गरिने छ । परियोजना सम्पन्न भएपछि काठमाडौँ उपत्यकाको ब्याकअपका रुपमा पनि पोखरा डिपोले काम गर्ने छ भने गण्डकी प्रदेशमा पेट्रोलियम वितरणको संरचनामा समेत ठूलो सुधार हुने कार्यकारी निर्देशक पौडेलको विश्वास छ ।