कास्कीको मादी गाउँपालिकाले कोरोना संक्रमण उच्च भएको क्षेत्रमा १ घर १ पिसिआर परीक्षण गर्ने

पोखरा । कास्कीको मादी गाउँपालिकाले कोरोना भाइरस संक्रमणको दर उच्च रहेको स्थानमा १ घर १ पिसिआर परीक्षण गर्ने भएको छ । साथै कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिको समेत पिसिआर परीक्षण गर्ने गाउँपालिकाको आज बसेको स्थानीय विपद् व्यवस्थापन समतिको भर्चुअल बैठकले निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण समुदायस्तरमा समेत फैलिन थालेसंगै गाउँपालिकाले संक्रमण बढी फैलिएको स्थानहरुमा १ घर १ पिसिआर गर्ने निर्णय गरेको हो ।

साथै बैठकले नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै कार्तिक २६ गतेबाट मंसिर २ गतेसम्मका लागि सार्वजनिक यातायातका साधनहरु (भाडाका बस तथा जीप) सञ्चालनमा पूर्ण रुपमा रोक लगाएको छ ।

चाडपर्व समयमा गाउँपालिकामा हुने जमघट, आवतजावत तथा भीडभाडबाट संक्रमण अझै फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सार्वजनिक सवारीसाधान आवतजावतमा रोक लगाइएको हो । उक्त समयमा अत्यावश्यक सवारी एम्बुलेन्स, खाद्यान्न तथा निर्माण सामाग्री ढुवानी गर्ने गाडी, सरकारी गाडी र निजी सवारी आवागमनलाई सहजीकरण गरिनेछ ।

गाउँपालिकाले तिहारमा सञ्चालन हुने देउसी भैलो कार्यक्रममा समेत रोक लगाएको छ । त्यस्तै कार्तिक २६ गतेबाट लागू हुने गरेर मंसिर ५ गतेसम्मका लागि गाउँपालिकाका विभिन्न स्थान सिल गरिने भएको छ ।

‘मिति २०७७ कार्तिक २६ गतेबाट मंसिर ५ गतेसम्मका लागि कोरोना भाइरस संक्रमणको दर अत्याधिक रहेका, संक्रमणको उच्च जोखिम रहेका वडा नम्बर ९ को नयाँबजार, वडा नम्बर १० को थुम्सिकोट, वडा नम्बर ११ को भगवती बजार, वडा नम्बर १२ को घुम्लेबजार तथा वडा नम्बर १२ को भगवतीटार क्षेत्र सिल गरिने छ ।’ गाउँपालिकाद्वारा आज जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ।

कार्तिक २६ गतेबाट नै मंसिर २ गतेसम्मका लागि गाउँपालिका कार्यालय तथा मातहतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा प्रवाह पनि बन्द हुने भएको छ । त्यस्तै विद्यालयहरुमा सञ्चालन भएको शिक्षण सिकाई कार्यक्रम मंसिर ६ गतेसम्म बन्द गर्ने गाउँपालिकाको बैठकले निर्णय गरेको छ । गाउँपालिकाभत्रि पर्यटकीय क्षेत्रमा हुने पर्यटकीय गतिविधिमा समेत रोक लगाइएको छ ।

कमेन्टहरु
Loading...