काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माको स्वास्थ्यमा केही सुधार आएपछि उनलाई ७२ घण्टाको ट्रायलपछि भेन्टिलेटरबाट निकालिएको छ । नेता विश्वकर्माका स्वकीय सचिव टेक विकका अनुसार उनी अहिले केही बोल्न सक्ने अवस्थामा रहेका छन् ।
विकका अनुसार नेता विश्वकर्माले चिकित्सक तथा सीमित व्यक्तिहरुसंग बोलचाल गरिरहेका छन् । उनलाई केही बढी नै चिकित्सकहरुको निगरानी राख्नुपर्ने भएपनि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको स्वकीय सचिव विकले जानकारी दिएका छन् ।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नेता विश्वकर्माको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । फोक्सोमा पानी जमेपछि उनको स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । चिकित्सकका अनुसार नेता विश्वकर्माको गत मंगलबार मात्र होस् खुलेको हो ।
होस् आए पनि बोलचाल गर्न नसकेपछि उनलाई भेन्टिलेटरमा नै राखेर उपचार गरिएको थियो ।