विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड बढी

 

काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच करोड भन्दा बढि पुगेको छ । विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वमा पाँच करोड तीन लाख १६ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको हो । त्यस्तै विश्वभर कोभिड–१९ बाट १२ लाख ५५ हजार भन्दा धेरैको ज्यान गएको छ ।

 

धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमितको संख्या थाहा पाए भन्दा धेरै हुन सक्ने विज्ञले बताएका छन् । कुल संक्रमित मध्ये महामारीको दोस्रो लहरमा संक्रमित हुने एक चौथाई रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

 

 

युरोप तथा अमेरिकामा संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेपछि कुल संक्रमितको संख्याले नयाँ आँकडा पार गरेको हो । युरोपमा एक करोड २५ लाख भन्दा बढि संक्रमित भएका छन् र तीन लाख पाँच हजार भन्दा धेरैको ज्यान गएको छ ।

 

महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६१ हजार भन्दा धेरै पुगेको छ । पछिल्ला दिनमा लगातार संक्रमितको संख्या दैनिक एक लाख भन्दा बढि थपिने गरेका छन् । त्यहाँ कोभिड–१९ बाट अहिलेसम्म दुई लाख ३७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

कमेन्टहरु
Loading...