बाग्लुङ । धौलागिरी अस्पताल बागलुङमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना गर्ने नेपाल सरकारको निर्णय ४ महिनापछि कार्यान्वयनमा आउन थालेको छ । नेपाल सरकारले गत असार १२ गते धौलागिरी अस्पतालमा कोरोनाको पिसिआर नमूना परीक्षणको अनुमति दिएपनि बजेटको अभावमा पिसिआर मेसिन खरिद गर्न सकिएको थिएन । २ महिना अघि मात्र पिसिआर मेसिन खरिद गर्न सरकारले अस्पताललाई १ करोड पठाए पनि बजेट अपर्याप्त भएको भन्दै खरिद प्रक्रियामा जान सकेको थिएन । पछि प्रयोगशाला व्यवस्थापनका लागि थप ४० लाख बजेट विनियोजन भएपछि अस्पतालले पिसिआर मेसिन खरिद तथा प्रयोगशाला व्यवस्थापनको प्रक्रिया अगाडि बढाएको हो ।
बजेट प्राप्त भएकाले अब पिसिआर मेसिन खरिदका लागि बायोकेमिकल इञ्जिनियरबाट लागत इस्टिमेट तयार गरेर खरिद प्रक्रियामा जान लागेको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गोतमले जानकारी दिएका छन् ।
सुरुमा बजेट नभएको र पछि प्राविधिक रुपमा नौलो र पहिलोपटक भएकाले यस विषयमा बुझ्न केही समय लागेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिएका छन् । ‘मेसिन खरिद गरेपछि प्रयोगशाला सञ्चालनमा ल्याउनु पर्छ, केही औजार छुट भएमा पुनः सञ्चालनमा ढिलाइ हुन सक्छ, त्यसैले लागत इस्टिमेट गर्न समय लागेको हो ।’ उनले भने, ‘१/२ दिन भित्रै टेन्डर प्रक्रियामा जादैछौं, जति सक्दो छोटो प्रक्रियामार्फत पिसिआर परीक्षण मेसिन खरिद गर्नेछौं ।’
उनका अनुसार मेसिन खरिद गरिएपनि दक्ष जनशक्तिको अभावमा प्रयोगशाला सञ्चालनमा कठिनाइ हुने बताइएको छ । धौलागिरी अस्पतालका प्रयोगशाला प्रमुख सुरज बराल पोखरास्थित पिसिआर परीक्षण प्रयोगशालामा गएका कारण प्रयोगशाला सञ्चालन गर्न कठिनाइ हुने डा.पोखरेलको भनाइ छ । मेसिन खरिद र प्रयोगशालाको निर्माण भइसकेपछि त्यसका लागि आवश्यक पर्ने दक्ष जनशक्ति सरकारले व्यवस्थापन गर्नेमा अस्पताल आशावादी रहेको उनले बताएका छन् ।
अस्पतालमा पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा आएपछि बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतमा संकलन गरिएको नमूना पोखरा पठाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । प्रयोगशाला स्थापना गर्ने निर्णयसँगै धौलागिरीवासी उत्साहित भएका छन् ।
प्रयोगशाला सञ्चालनका लागि कम्तिमा ३ वटा सुविधा सम्पन्न कक्ष र ६ जना ल्याव प्राविधिक (टेक्निसियन) आवश्यक पर्ने धौलागिरी अस्पतालले जनाएको छ । रासस