काठमाडौं । बिहीबार जारी रहेको आईपीएलको पहिलो खेल क्वालिफायरमा मुम्बईले दिल्ली कयापिटल्सलाई ५७ रन पराजित गरेको छ । योसँगै साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग आईपीएल टी २० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ । पहिलो ब्याटिङ्ग गरेको मुम्बई पाँच विकेट गुमाएर २ सय रन जोडेको थियो।
दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ४३ रन मात्र जोड्न सक्यो। दिल्लीका सुरुका तीन जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्। मुम्बईका जसप्रित बुमराहले चार विकेट हात पारे।मुम्बई अब लगातार दोस्रो पटक उपाधि जित्नबाट एक जित मात्र टाढा छ ।
उता क्वालिफायरमा पराजित भएपनि दिल्लीले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ । शुक्रबार हुने सनराइजर्स हैदरावाद र रोएल च्यालेन्जर्स बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग दिल्लीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।
सर्वाधिक चार पटकको च्याम्पियन मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो । सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको थियो ।