हैदराबाद आईपीएलको प्ले अफमा, कोलकाता बाहिरियो

१३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा सनराइजर्स हैदराबाद पुगेको छ ।

मुम्बई इण्डियन्समाथि १० विकेटको शानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो ।

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्‍यो ।

हैदराबादको जितमा डेभिड वार्नर ५८ बलमा १० चौका र १ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए । साहा ४५ बलमा ७ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

केइरन पोलार्डले सर्वाधिक ४१ रन , सूर्यकुमार यादबले ३६ रन जोड्दा इशान किसनले ३३ रन जोडे । क्विन्टन डी कक २५ रनमा आउट भए ।

हैदराबाद प्ले अफमा पुगेसँगै कोलकाता पनि लिग चरणबाटै बाहिरिएको छ । समान १४ अंक नै भए पनि कोलकाता रनरेटमा पछी पर्दै बाहिरिएको हो ।

कमेन्टहरु
Loading...